अमेरिकाबाट कांग्रेस नेता चन्द्र भण्डारीको उद्घोष: ‘नेपालका अहिलेका नेताबाट मुलुक बन्दैन’

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले नेपालका अहिलेको नेताबाट मुलुक नबन्ने बताएका छन्।
स्वास्थ्य सम्बन्धी एक कार्यक्रमका लागि अमेरिका भ्रमणमा रहेका नेता भण्डारीले समाज टाइम्स सँगको कुराकानीमा नयाँ पुस्ताले निकास दिनु पर्ने धारणा राखे।
‘अहिलेको नेपालमा वर्तमानमा देखिएका नेताहरू, उहाँहरूको चिन्तन, उहाँहरूको बुझाई, उहाँहरूको शैलीबाट मुलुक बन्दैन।’ उनले भने,’ तथापि हामीले पनि आरोप लगाएर हामी पनि उम्कन पाउँदैनौ, हामीले संसदमा दबाब दिएर मुलुकलाई निकास दिनु पर्छ।’
कुराकानीको क्रममा उनले युवामा आशा जनाउन नसकेको र त्यो नेतृत्वको गल्ती भएको बताए।
सांसद भण्डारीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको कार्यकाल पछि नेपालमा नयाँ ध्रुवीकरण हुने ठोकुवा समेत गरे। उनले कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले अब काम गरेर देखाउने बेला भएको बताए।
भण्डारीले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०५१ सालमा गरेको मध्यावधि निर्वाचनको घोषणले मुलुक फरक बाटोमा गएको टिप्पणी गरे।
‘गिरिजाबाबुको पालामा हामी मध्यावधिमा नगएको भए मुलुकले फरक कोर्स लिन्थ्यो।’ भण्डारीले दाबी गरे।
उनले अहिलेले मिसन ८४ को कुरा उठाउनु गलत भएको तर्क राखे।’मिसन ८४ के का लागि ? यो गलत कुरा हो हामीले काम गरेर देखाउने हो।’
अर्को प्रसङ्गमा सांसद भण्डारीले आफूमाथि भएको घटना बारेमा सोच्न बाध्य भएको तर अब अनुसन्धानका लागि ढिलो भएको बताए।
गत फेब्रुअरीमा काठमाडौँमा आफ्नै निवासमा भएको आगलागीमा परि भण्डारी घाइते गम्भीर घाइते भएका थिए। घटनामा पनि भण्डारीको ८६ वर्षीय आमा हरिकलाको निधन भएको थियो ।
अमेरिका भ्रमणमा रहेका सांसद भण्डारी सँग समाज टाइम्सका सम्पादक बिष्णु हरि घिमिरेले गरेको कुराकानी (भिडियो)