एनआरएनए निर्वाचन: टिम महेशले उपाध्यक्षको टुङ्गो लगायो, सुनिल र रोबिन समेटिए
पेन्सिल्भेनिया, अमेरिका / अन्ततः गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा अध्यक्षका पदका प्रत्याशी महेश श्रेष्ठ टिमले उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ।
खुल्ला उपाध्यक्षको बाँकी दुई कोटामा पनि महेश टिमले उम्मेदवार तय गरेको हो। श्रेष्ठको तर्फबाट टिम मिलाउने उच्चस्तरीय कमिटीका एक सदस्यका अनुसार सोमवार उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाइएको हो।
‘हामीले मोटामोटी टुङ्गायौ।’ तीन सदस्यले समाज टाइम्स सँग भने,’सुनिल साह र रोबिन शेरचन महेशजीको टिमबाट चुनाव लड्नु हुन्छ।’
यी दुवै जनाको नाम यस अगाडि अध्यक्षका अर्का प्रत्याशी डा. बद्री केसीको टिममा पनि थियो।
साह एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीका कोषाध्यक्ष हुन्। यसै गरी शेरचन जापान निवासी हुन्।
श्रेष्ठ पनि जापानकै हुन्। ‘आफ्नै ठाउँको शक्तिशाली व्यक्ति अर्को उम्मेदवारको टिममा बस्दा महेशजीलाई पनि नकारात्मक सन्देश गएको थियो तर अब त्यो टर्यो।’ तीन सदस्यले भने।
उपाध्यक्षका लागि शेरचन,मलेसियाका खगेन्द्र न्यौपाने र अस्ट्रेलियाका गणेश केसी मध्येबाट कसलाई टिममा कसलाई राख्ने भन्नेमा लामो छलफल भएको ती सदस्यले बताए।
शेरचनले पनि आफ्नो पहिलो रोजाइ श्रेष्ठ नै भएको बताए। ‘ए हो र मेरो नाम नि पर्यो रे, ल ठिकै छ नि, त्यसमा मलाई आपत्ति छैन मेरो पहिलो रोजाइ महेश जी नै हो।’ समाज टाइम्स सँग शेरचनले भने।
यस्तै एनआरएन आइसीसीका कोषाध्यक्ष साह र सचिव राजन त्रिपाठी मध्ये कसलाई टिमको उपाध्यक्ष बनाउने भन्नेमा पनि लामो छलफल भएको ती सदस्यले बताए।
‘उहाँहरू दुवै जना अमेरिकाबाट, टिम समावेशी बनाउनु पर्छ भन्ने थियो,राजनजी सचिव भइसके पछि त्यो भन्दा माथि जाने इच्छा हुनु स्वाभाविक नै हो तर जित्ने टिम बनाउँदा सुनिलजीलाई छोड्नै सकिएन।’ उनले भने।
साहले पनि अध्यक्षमा आफ्नो पहिलो रोजाइ महेश श्रेष्ठ नै भएको बताए। ‘म उपाध्यक्षको उम्मेदवार हुँ, महेश जी सँग म सबै कुराले नजिक छु।’ साहले भने।
राजनलाई कोषाध्यक्ष वा सल्लाहकारको प्रस्ताव गरिएको जनाइएको छ। ‘सम्भवतः उहाँ सल्लाहकारमा नै जानु हुन्छ।’ ती सदस्यले समाज टाइम्स सँग भने।
अध्यक्षमा दावेदारी गर्दै आएका आइसीसीमा वर्तमान महासचिव तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले उपाध्यक्षको उम्मेदवार हुँदै अध्यक्षमा महेशलाई समर्थन गरेका थिए।
टिम महेशमा यस अगाडि महासचिवमा दावेदारी गरेका बेल्जियमका गंगाधर गौतमलाई पनि उपाध्यक्षको उम्मेदवार बनाइएको छ।
यस्तै गरी नेदरल्याण्डका नारायण आचार्य र कतारका राज रेग्मीको टिम महेशबाट उपाध्यक्षको टिकट यस अगाडि नै पक्का भएको थियो।
महिला उपाध्यक्षमा क्यानडाकी विमला सापकोटा र युवा उपाध्यक्षमा पोर्चुगलका रवीन अधिकारीलाई टिम महेशको टिकट दिइने भएको छ।
महासचिवमा यस अगाडि नै एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदी टिम महेशको उम्मेदवार हुन्।
यसै बिच साह र शेरचन टिम महेशमा जाने भए पछि टिम बद्रीको उपाध्यक्षमा जर्मनीका विजय मोक्तान, नेदरल्याण्डका हिमाल गुरुङ र शशी पौडेलको सम्भावना बढेको छ। एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा. बद्री केसीले दोस्रो कार्यकालका लागि अक्टोबर चार तारिख बुधवार औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै छन्।
तर टिम बद्री निकटको अर्को स्रोत भन्छ ‘होइन साह र शेरचनको नाम हाम्रो टिममा पनि यथावत नै रहन्छ।’
र यो पनि…
एनआरएनए निर्वाचन : उपाध्यक्ष मिलाउन महेशलाई सकस,कोषाध्यक्षमा उम्मेदवार पाउन हम्मे हम्मे












