एनआरएनए अमेरिकामा दुई महिना: तेज पौडेल(विनोद)
टेक्सस/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको युवा संयोजकको रूपमा शपथ लिएको दुई महिना बितेछ । यो दुई महिनामा आफूले गरेको काम देख्दा आफैले आफैलाई उत्तर दिने ठाउँ छैन । मेरो पहिलो एजेन्डा थियो, “सबै सदस्यलाई बेलैमा बिना रोकावट इमेल जाने । यो सुधार्न एक हप्ता लाग्छ ।” तर यो दुई महिनामा पनि सुधार्न सकिएन । कारण यो सुधार्नको लागि मलाई सिस्टमको एक्सेस चाहिन्छ जुन एक्सेस म सँग छैन । मागेर पाइँदैन । सुधार्न अरूलाई भनौँ, यो सम्बन्धी आइडिया भएको कोही छैन, दुई महिना सम्म आइटी कोअर्डिनेटर पनि नियुक्ति भएको छैन । तर यसको एक्सेस पाएको दिन यसलाई सुधार्ने उधारो चाहना अझै पनि छ ।
निर्वाचनमा बाचा गरिएका अरू एजेन्डा पनि सम्भव हुँदाहुँदै असम्भव जस्तै भएका छन् । दुई बर्से कार्य तालिका बनेर कम्प्युटर भित्तामा बसेको पनि ठिक दुई महिना भएछ, तपाईँहरू सामु यसलाई ल्याउने प्रयास अझै असफल भएका छन् । तपाईँहरूले यो यो गर है भनेर पठाएका एजेन्डा र कामहरू पनि कम्प्युटर भित्ताबाट बाहिर निस्किने दिन कुरेर बसेका छन् । आशा गरौँ, पद बाँडफाँडको राजनीति र आइसीसीको चुनावी राजनीति सकिएपछि निन्याउरो मुहार सहित ती कार्यक्रमहरू बाहिर आउने छन् ।
एनआरएनएमा समस्या छन् भन्ने थाहा थियो । गत आठ वर्ष देखि संस्थाको एक साधारण सदस्यको रूपमा हेर्दै गर्दा, च्याप्टरको कार्यसमिति र विभिन्न टास्क फोर्समा बसेर हेर्दै गर्दा अथवा अरूले गरेनन् म भए यस्तो गर्थेँ भनेर सामाजिक सञ्जाल रङ्गाउँदै गर्दा पनि लाग्थ्यो भित्र गएपछि एनआरएनए अमेरिकालाई ट्रयाकमा ल्याउन सकिन्छ । फोहोर सफा गर्न फोहोरमै छिर्नुपर्छ भन्दै पेसा, व्यवसाय, परिवार र दुई वटा साना छोरीलाई दिनुपर्ने समयलाई कटौती गर्दै संस्था सुधार्ने चाहना सहित हाम फालेको युवा संयोजकलाई पनि यो दुई महिना त्यति फलदायी लागेन । गएका दुई महिनामा सोचे जस्तो फलदायी नहुनुमा पदको बाँडफाँड सँगै अरू विभिन्न कारणहरू छन् ।
खिचडी विधान:
एनआरएनए अमेरिकाको विधान छ । तर सबै कुरा जम्मा गरेर पकाएको खिचडी जस्तो छ । जे कुरा लेख्नु पर्ने थियो लेखिएको छैन । विधानमा पद थुपारिएको छ तर पदको जिम्मेवारी तोकिएको छैन । उदाहरणको लागि युवा उपाध्यक्ष र युवा संयोजक दुई वटा पदको कल्पना गरिएको छ, तर यी दुई जनाले के गर्ने भन्ने विषयमा विधान मौन छ । ठिक यही समस्या महिला उपाध्यक्ष र महिला संयोजकमा पनि छ ।
५९ जनाको जम्बो टोली:
एउटा गैह्र नाफामूलक नेपाल सरकारको मान्यता प्राप्त संस्थामा ५९ जना कार्य समिति सदस्य छन् । यी सबै सदस्य मिटिङमा उपस्थित हुनुपर्ने विधान छ । ५९ जना सदस्यले एक मिनेट मात्रै बोल्दा पनि मिटिङ एक घण्टा गयो । तर एजेन्डामा बोल्दै गर्दा एक जना ५/७ मिनेट बोलिहान्छन् । मिटिङ दिनभरि चल्छ ।
सात जना उपाध्यक्ष हुनुहुन्छ, तर उपाध्यक्षको काम खुलाइएको छैन। अलिअलि सतही रूपमा विभागीय जिम्मेवारी दिए पनि ठ्याक्क यही गर्ने भन्ने नखुलेकोले उपाध्यक्ष लगायतमा सबै सदस्यहरू कुहिरोमा रुमलिएको काग जस्तो भएका छन् । भित्र छिरेपछि थाहा भयो, संस्था चलाउनको लागि पूर्ण विभागीय जिम्मेवारी सहितको सानो र चुस्त कार्यसमिति चाहिँदो रहेछ ।
संरक्षक चयनमा विधान मौन:
कार्यसमितिका पछिल्ला बैठकमा संरक्षक चयनमा विवाद देखियो । केही साथीहरूले विरोध गर्नु भयो, केही साथीहरूले समर्थन गर्नु भयो भने बहुमत साथीहरू मौन बस्नु भयो । भागवत गीतामा लेखिएको छ, “मौन बस्नु नै समर्थन गर्नु हो।” त्यही प्रक्रियामा गएर १६ जनाको विरोध हुँदाहुँदै पनि अध्यक्षले पास गर्नु भो ।
वैधानिक तरिकाले हेर्दा ५८ जनामा १६ जनाको विरोध आउनु, र उपस्थित ४३ जनामा २७ जनाले समर्थन वा मौन बस्नु नै बहुमतले पास गर्नु सरह हो भन्ने धारणा हुन सक्छ । तर यस्ता मनोनयनमा विधानमा नै यो यो मान्छे संरक्षक हुनुपर्छ भनिदिएको भए विवाद हुने थिएन । गत कार्यकालमा विधान संशोधन गरेर पूर्व अध्यक्षलाई स्वतह प्रमुख संरक्षक हुनबाट रोक्नु नै अहिलेको विवादको चुरो हो । यस्ता कूटनैतिक विषयमा विधानमा नै लेखेर पास गर्नुपर्ने हुन्छ ।
अध्यक्षमा सहकार्यको कमी:
यो दुई महिनामा नवनिर्वाचित अध्यक्षले कार्यसमितिमा त्यति सहकार्य गरे जस्तो देखिएको छैन । सल्लाहकार नियुक्ति, संरक्षक नियुक्ति, डेलिगेट छनौट लगायतका विषयमा कार्यसमितिबाट सल्लाह गरेर सबैलाई मिलाएर जाँदा अध्यक्षलाई सहज हुन्थ्यो तर अध्यक्ष ज्यू यसमा चुक्नु भएको छ । अब आउने निर्णय र नियुक्तिमा कार्यसमितिबाट अलि धेरै सल्लाह र सुझाव लिएर अगाडि बढ्ने हो भने सहज पनि हुन्छ र बाहिर देखिदा पनि राम्रो देखिन्छ । म जान्ने छु अरूको सुझाव किन चाहियो, अथवा म ठुलो पदमा छु साना पदमा हुनेले के सल्लाह देलान् भन्दै पेल्न खोजियो भने झन् विवाद र असहज परिस्थिति आउन सक्छ ।
कार्यसमिति सदस्यमा जिम्मेवारीको अभाव:
मेरो जिम्मेवारी के भन्ने विषयमा म आफैलाई अन्योल छ । ५९ जनालाई अध्यक्ष र महासचिवले प्रत्येक एजेन्डामा फोन गरेर सल्लाह गर्न सम्भव देखिँदैन । तर अध्यक्ष र महासचिवले मेसेजमा र इमेलमा सोधिएका प्रश्न उत्तर कसैले दिएको देखिँदैन । महासचिवले पठाएको इमेल ३/४ जनाले बाहेक रिप्लाई आउँदैन । कति सदस्यले त अहिले सम्म इमेल पनि खोल्नु भएको छैन ।
उदाहरणको लागि: महासचिवले सबैलाई मिटिङको लागि आफ्ना एजेन्डा पठाउन आग्रह गर्नु भो, ५८ जनामा ३ जनाले मात्र आफ्ना एजेन्डा पेस गर्नु भो । अर्को कुरा अध्यक्षले दोस्रो बैठकमा संरक्षकको नाम पेस गर्नु भो र निर्णय हुनु अघि एक महिना समय थियो ।
एक महिना सम्म कसैले पनि यो विषयमा गृहकार्य र सल्लाह गर्नु भएन । एकै पटक बैठकमा हामीसँग सल्लाह नगर्ने भनेर विरोध गर्नु भयो । हामीले अध्यक्षलाई फलानो गलत छ फलानो राख्नुस् भनेर भन्न सक्नुपर्थ्यो, आफूले विकल्प पनि दिन नसक्ने अरूको गर्ने निर्णय पनि स्विकार्न नसक्ने र विरोध मात्र गरिरहने हो भने संस्था झन् उँधो गतिमा जान्छ । कमसेकम आफूले विकल्प दिन सकिँदैन भने विरोधको लागि मात्र विरोध गर्ने मेरो नैतिकताले दिदैं ।
सूचना प्रवाहमा ढिला सुस्ती:
नेपालका प्रधानमन्त्री प्रचण्ड अमेरिका आए । सरकारको मान्यताप्राप्त एक मात्र संस्थाको नाताले एनआरएनए अमेरिकाको नेतृत्वलाई प्रधानमन्त्रीको भ्रमणको जानकारी पक्कै थियो होला । तर कार्यसमितिमा औपचारिक जानकारी भएन । प्रधानमन्त्रीको कार्यक्रम केही व्यक्तिको कोठामा र अपार्टमेन्टमा भएको फोटा आए सामाजिक सञ्जालमा । यो सूचना बेलैमा हुन पाएको भए कार्यसमितिको कुनै सदस्यले प्रधानमन्त्रीसँग औपचारिक भेटघाटको कार्यक्रम आयोजना गर्न सक्थे ।
विडम्बना प्रधानमन्त्री फर्केपछि जानकारी भो । यस्तै, अमेरिका स्थित नेपाली दूतावास र अमेरिकामा भएका कतिपय संस्थाहरूबाट आएका निमन्त्रणा पनि कार्य समितिमा औपचारिक रूपमा आउँदैनन् । नेतृत्वले थाहा पाउँछ, आफू उपस्थित हुन्छ तर नेतृत्वबाट अरू सदस्यलाई जानकारी हुँदैन ।
अर्को कुरा संस्थाको सञ्चार माध्यमसँग पनि त्यति राम्रो सम्बन्ध देखिँदैन। हाम्रो सूचनाहरू औपचारिक रूपमा संस्थाबाट जानु पर्ने हो र गएको राम्रो।
अन्त्यमा,
संस्थामा समस्या छन्। नेतृत्वमा पनि समस्या होलान् । कार्यसमितिमा भएपछि गलतलाई गलत भनौँ । करिब ६० जनाको जम्बो टोलीमा सबैको एउटै आवाज हुन्छ र हुनुपर्छ भन्ने कल्पना नगरौँ । यो मिलेर चलाउने संस्था हो । संस्थाको आधा भन्दा बढी समय मनोनयनमा जाँदो रहेछ ।
म चुनाव पहिल्यै देखि क्लियर छु । पद लेनदेनमा मेरो कुनै पनि चासो छैन । नियुक्तिमा अब विवाद नगरौँ, यसलाई जति सक्दो छिटो टुङ्ग्याउन् र अब एजेन्डामा लागौँ भन्ने प्रस्ताव मिटिङमा पनि रह्यो ।
युवाका समस्या छन्, विद्यार्थीका समस्या छन्, महिलाका समस्या छन् । कसैलाई काम चाहिएको छ, पराई देशमा कसैलाई कानुनी सहायता चाहिएको छ भने कसैलाई भाषाको समस्या छ । हामी हाम्रो सदस्यको घाउमा मलहम बन्न आएका हौँ, अब सदस्यसँग सहकार्य गर्न तिर लागौँ ।
राजनीति गर्नको लागि पार्टीका भातृ संस्था छन्, हामी हाम्रो काममा लागौँ । अमेरिका जस्तो देशमा आफ्नो व्यस्त समयबाट बचेको थोरै समय कुशल काममा लागोस् भन्ने चाहना हो ।
हामी सबैको चाहना एक होस ।
यो कार्यकाल एनआरएनए सुधारको लागि लडाई हुने छ ।
धन्यवाद
युवा संयोजक,
गैर आवासीय नेपाली संघ, अमेरिका