नेपालीमुलका अमेरिकन विधायक ह्रयारी भण्डारीलाई विद्यावारिधि

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपालीमुलका एक मात्र अमेरिकी विधायक ह्रयारी (एच बी)भण्डारीले विद्यावारिधि पुरा गरेका छन् । ‘अमेरिकी नेपालीहरूको राजनीतिक सहभागिता तथा भाषिक एकीकरण’ विषयमा उनले युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधि गरेका हुन् ।
मंगलवार आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका अध्यक्ष फ्रिम्यान ए ह्रयास्बोले भण्डारीलाई विद्यावारिधिको प्रमाण पत्र हस्तान्तरण गरे । आफ्ना माता पिता सहित दीक्षान्त समारोहमा पुगेका भण्डारीले आफु दीक्षान्त हुदाँ नेपाली पोशाक दौरा सुरुवालमा लगाएका थिए ।
भण्डारी अमेरिकाको मुलधारमा सफल हुने पहिलो नेपाली हुन् । उनी अहिले मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट डेलिगेट (विधायक) छन् । यस्तै उनी डेमोक्रेट पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।
नेपालमा पर्वतमा जन्मिएका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् । डेलिगेटको रुपमा भण्डारीले चार बर्षे कार्यकाल पुरा गर्दै छन् । यो उनको पहिलो कार्यकालको अन्तिम वर्ष हो । नेपाली समुदायलाई पर्ने हर समस्या समाधानका लागि अग्रणी भूमिका खेल्दै आएका भण्डारीले अर्को कार्यकालका लागि पनि उमेदवारी घोषणा गरि सकेका छन् ।
दीक्षान्त भए पछि भण्डारीले आफुले प्राप्त सफलता प्रति सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।
भण्डारीको विज्ञप्ति पूर्ण पाठ
आभारी छु, कृतज्ञ छु
आज म विनम्रतापूर्वक एउटा खुशीको खबर सुनाउन लागिरहेको छु- अन्तत: मैले विद्यावारिधि (पी.एचडी.) गरेँ। यसका लागि म त मात्र निमित्त हुँ। यो सबै तपाईंहरूको सहयोग, साथ र शुभकामनाले आर्जेको साझा उपलव्धी हो । म यहाँहरू सबैलाई यो उपलव्धीको हकदार ठान्छु र यसको श्रेय सबैमा सरोबरी बाँड्न चाहन्छु ।
मेरो विद्यावारिधिको विषय ‘अमेरिकी नेपालीहरूको राजनीतिक सहभागिता तथा भाषिक एकीकरण’ हो । अमेरिकामा रहेका हामी सबै नेपाली अमेरिकीहरूको साझा चासोको विषयको अध्ययनबाट केही अपत्यारिला तर गम्भीर निष्कर्षहरू पाइएको छ। जसले हामी आफैंलाई चिहाउने सानो झ्याल दिएको छ भने अमेरिकी सरकारलाई त हामीलाई हेर्ने ऐना नै दिएको छ। समयक्रममा यसका उपलव्धीहरू हामी साझा गर्ने नै छौं ।
अमेरिकामा आएपछि हामीले मूलत: यहीको राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता रहदै आएको छ । त्यही मान्यतालाई प्राज्ञिक कोणबाट हेर्न/हेराउन मेरो अध्ययनले ठूलो महत्व राख्दछ ।
यहाँहरूले गर्नुभएको मायाले मलाई प्राप्त भएको पहिलो नेपाली अमेरिकी डेलिगेटको परिचयलाई यो उपलव्धीले थप विश्वसनीय, आधिकारिक र ओजपूर्ण बनाउने छ भन्ने मेरो विश्वास हो।
घरदेशका हौं या परदेशका कहींका पनि नेपालीले शीर उठाएर बाँच्नुपर्छ । म मेरो कर्मबाट आफूलाई पनि र अरू कसैलाई पनि त्यस्तो हुने वातावरण बनाउन हरदिन प्रयत्न गर्ने नै छु ।
यहाँहरूको साथ, सहयोग र सद्भावको अपेक्षासहित,
एच बि भण्डारी
फोटो भण्डारीको फेसबुकबाट