निन्द्रामा ‘नेजा’, बित्थामा कटायो ६ महिना
बिष्णु हरि घिमिरे
समाचार टिप्पणी
अमेरिका । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको नयाँ नेतृत्वले ६ महिना पुरा गर्न अब तीन दिन बाँकी छ । तर यो समयमा नेजा पनि अस्थित्वमा नै छ ? भन्ने प्रश्न उठेको छ ।
नेजामा छलाङ्ग मार्ने उद्घोष सहित नेतृत्वमा आएका विकासराज न्यौपानेको टिमले अहिले सम्म सल्लाहाकार सम्म मनोनयन गर्न सकेको छैन् । व्यापारी पृष्ठभूमिका न्यौपानेले नेतृत्वमा आउदा नेजामा कायपलट गरेर देखाउने दावी गरेका थिए ।
दुई बर्ष कार्यवहाक अध्यक्ष चलाएका न्यौपानेले एक पटक पूर्ण अधिकार सहितको अध्यक्ष भएमा ‘म देखाउछु नेजालाई कसरी चलाउन पर्छ’ भन्ने गर्दथे । तर यो छ महिना उनको टिमले निन्द्रामा नै विताएको छ ।
विकास उनै व्यक्ति हुन जो पदमा नहुदाँ ‘नेजा,भेजा,नजा’ भन्ने अभियान नै चलाएका थिए । साथै आफु पदमा नहुदा अर्को संगठन स्थापनामा पनि लागेका थिए । नेजाको विधानले संस्थामा पाँच जना सल्लाहाकार मनोनित गर्ने अधिकार कार्य समितिलाई दिएको छ । नेजाको कार्यकाल दुई बर्षको हुन्छ । विधानत एक बर्षमा साधरण सभा गर्नु पर्ने हुन्छ । साधरण सभाका लागि तिन महिना अगाडि सूचना दिनु पर्ने हुन्छ ।
त्यसको अर्थ अब अर्को साधरण सभाका लागि सूचना दिन तीन महिना बाँकी छ तर अहिले सम्म सल्लाकार नै मनोनयन हुन सकेको छैन । अबको १८ महिनामा यो कार्य समितिको कार्यकाल पुरा हुन्छ ।
आर्थिक प्रतिवेदन अझै गोप्प
विधान अनुसार गर्नु पर्ने अन्य काम पनि नेजाले गर्न सकेको छैन । मुलत हरेक महिनाको खर्च विवरण कार्यसमितिबाट अनुमोदन गराउने र प्रत्येक तीन तीन महिनामा सबै साधरण सदस्यलाई आर्थिक प्रतिवेदन पठाउने भन्ने सन् २०१७ मा भर्जिनियामा भएको साधरण सभाले निर्णय नै गरेको छ ।
अमेरिकामा क्रियाशिल नेपाली संस्थाहरुमा पटक पटक आर्थिक अपचलनका मुद्धा उठने गरेका छन् । त्यस्ता मुद्धाले समाजलाई नै विचलनमा ल्याउने गरेको भन्दै कम्तिमा पत्रकारहरुको संस्था उदाहरणिय बन्नु पर्छ भनेर नेजाको २०१७ को भर्जिनिया साधरण सभाले लिखित विधान र आर्थिक नियमावली नै पास गरेको थियो ।
त्यो भन्दा अगाडि नेजामा पनि कुल आम्दानी र खर्चको शिर्षक मात्र सुनाउने परिपाठि रहेको थियो । आम्दानी स्रोत र खर्चको पूर्ण विवरण गोप्प राख्दा अनियमिता हुन सक्ने भन्दै आम्दानी र खर्चको स्रोत नै खुलाएर पठाउन पर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । तर सो व्यवस्था अहिले कार्यन्वयन गरिएको छैन ।
सन् २०२१ को भर्जिनिया साधरण सभा पनि कोषाध्यक्ष मच्छेदेवी गुरुङले आम्दानी खर्चको शिर्षक मात्र सुनाएकी थिइन । ‘पूर्ण विवरण तपाईहरुले मेलमा पाउनु हुने छ ।’ तर समयले ६ महिना काट्दा सम्म साधरण सदस्यलाई बार्षिक प्रतिवेशनको पूर्ण विवरण भएको मेल आएको छैन । नेजाको विधानमा नै वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने र वेवसाइडमा पनि राख्नु पर्ने भनेको छ ।
विधानमा यस्तो छ व्यवस्था छ ।
धारा ८
वार्षिक लेखापरीक्षण
८.१ वार्षिक लेखापरीक्षण संस्थाको सबै वार्षिक हर हिसाब विवरणलाई वार्षिक रूपमा लेखापरीषण गरेर सार्वजनिक गरिनेछ । यसको सम्पूर्ण जिम्मा कोषाध्यक्षको हुनेछ । यसका साथै,कोषाध्यक्षले वित्तीय प्रतिवेदन साधारण सभामा पेस गरेर अनुमोदन गराउनु पर्नेछ ।
८.२ कुनै पनि सदस्यले लिखित अनुरोध गरेमा संस्थाको वित्तीय प्रतिवेदन प्रदान गर्नु पर्नेछ वा वेभसाईटमा अपलोड गर्नुपर्नेछ ।
८.३ वार्षिक लेखा परीक्षण प्रतिवेदन आवश्यकता बमोजिम आन्तरिक राजश्व कार्यालयमा पनि पेस गरिनेछ ।
भर्जिनिया साधरणमा पारित आर्थिक प्रतिवेदन अहिले सम्म न त व्यक्तिको इमेलमा आइको छ न वेभसाइटमा अपलोड छ । साधरण सभामा आम्दानीको स्रोत र खर्चको पूर्ण विवरण नखुलाई मौखिक रुपमा प्रतिवेदन पेश गरिएको थियो ।
नेजाका वर्तमान कोषाध्यक्ष प्रभात भट्टराइले आफुले कार्यभार शुरु गरे पछिको मासिक प्रतिवेदन यसै महिनाको अन्त पछि पठाउने दावी गरे । समाज टाइम्स सँगको कुराकानीमा भट्टराईले भने,’अधिल्लो कार्यसमितिले बनाएको प्रतिवेदन साधरण सभाले तालि पिटेर पारित गरिसकेको हो, त्यो सार्वजनिक गर्ने कुरामा पुरानो र नयाँ कार्यसमिति बस्नु पर्छ तर मैले कार्यभार लिए पछिको हामीले डिसेम्वर अन्तिम देखि पाठाउने निर्णय गरेका छौं ।
मुलत कार्यसमितिमा रहेका सिमित व्यक्तिले आपसी मिलोमतोमा अनियमिता नहोस र अमेरिकामा रहेका अन्या संस्थाले पनि पारदर्शिताका कुरा नेजाबाट सिकुन भन्नका लागि हरेक तीन महिनामा सबै सदस्यलाई आम्दानी खर्चको पूर्ण विवरण पठाउने व्यवस्थाको अवधारणा ल्याइएको हो ।
२०२१ को भर्जिनिया साधरण सभामा मात्र ८० जना क्षमता भएको हलमा कार्यक्रम गरिएको थियो । जबकी नेजाकै सदस्य १ सय ४४ जना थिए । कार्यक्रमका अथिति हलको सबै भन्दा पछाडि उभिनु परेको थियो । शुभ कामना दिन आएका अतिथिले समेत बस्ने ठाँउ पाएका थिएनन् । यस्तै खाना र नास्ताका लागि लाइनमा बसेका सदस्यहरुले अन्तिममा खाना सकियो भन्ने सूचना पाउन परेको थियो । जवकी हरेक सदस्य सँग एक सय डलर उठाइएको थियो । साधरण सभामा सदस्यहरुबाट अहिले सम्म उठाइएको यो उच्च रकम हो । तर अहिले सम्म कार्यसमितिले सो होटलमा हल, कोठा र खानाका लागि कति खर्च भएको हो भनेर विवरण सदस्यलाई दिएको छैन ।
माइन्युट नियमत आउदैन, वेवसाइड र फेसबुक पेज अपडेट छैन
आर्थिक पक्षमा सुस्तता मात्र होइन यो ६ महिनाको अवधिमा नेजा कार्यसमितिको बैठक कति पठक बस्यो भन्ने पनि अन्यौल छ । सामान्यतय हरेक बैठक भएको २४ घण्टामा महासचिवले माइन्युट साधरण सदस्यलाई इमेल मार्फत पठाउनु पर्ने हुन्छ । तर अहिले सम्म कतिपय सदस्यले एउटा पनि इमेल नपाएको गुनासो गरेका छन । केही सदस्यले जम्मा दुई पटक नयाँ कार्यसमितिको तर्फबाट इमेल पाएको बताएका छन् । पत्रकारहरुको संस्थाको वेवसाइड र फेसबुक पेज साधरण सभा पछि अपडेट नै छैन । महासिचव सुरज भण्डारीले प्राविधिक समस्याका कारण त्यस्तो हुन पुगेको जवाफ दिए । ‘बीचमा प्राविधक समस्या आएर हो अब अपडेट हुन्छ, इमेल मैले सबैलाई पठाएको हु केहीले नपाउनु भएको भए अब म हेर्छु ।’
छानविन समिति कहाँ हरायो ?
सन् २०२१ को भर्जिनिया साधरण सभाको बन्द शत्रमा नाटकिय र जबरजस्त रुपमा प्रवेस गराइएको विषय थियो लेटरहेड दुरुपयोग । संस्थाका यस अगाडिका पदाधिकारीले नेपालबाट मान्छे झिकाउनका लागि नेजाको लेटरप्पाड र पदिय जिम्मेवारीको दुरुपयोग गरिएको संघिन आरोप लगाइएको थियो । तत्कालिन कार्यवहाक अध्यक्ष न्यौपानले नै सो विषय प्रवेस गराएका थिए । सोहि विषयमा छानविन गर्न तत्कालिन सल्लाहाकार तारा बरालको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।
लेटरप्याड र पदियदुरुपयोग चुनावी फण्डा थियो वा बास्तविक घटना ? छानविन समितिले अझै सम्म प्रतिवेदन बुझाउन सकेको छैन । संयोजक तारा बरालले आफुहरुको छानविन अन्तिम चरणमा पुगेको बताए । ‘हामीले सोधबुझ गर्नु पर्ने व्यक्ति सँग सोध्नु पर्ने कुरा सोधिसक्यौं अब यो महिना भित्र प्रतिवेदन बुझाउछौं ।’ तारा बरालले टेलिफोन कुराकानीमा भने । स्मरणिय कुरा के छ भने जुन व्यक्तिलाई लेटरप्याड र पदिय दुरुपयोगको आरोप लगाइएको थियो उनैले अन्तिम समयमा विकासराज न्यौपानेको पक्षमा भोट मागेका थिए ।
विधानको आफुखुसी व्याख्या
नेजाको वर्तमान नेतृत्वले विधानको पनि आफुखुसी व्याख्या गरेको पाइएको छ । कार्य समिति सदस्य संघम बाँनियाले हालै दिएको राजिनामा स्वीकृत गरिएको जनाइएको छ । बाँनिया नासाको महासचिव निर्वाचित भए पछि नेजामा राजिनामा दिन बाध्य पारिएको बताइएको छ । विधानले पनि नेजा कार्यसमितिमा रहेको व्यक्ति अर्को सस्थामा रहना नपाउने भनेको छ । सियाटल अधिवेशनमा क्षेत्रीय संयोजकमा उमेदवारी दिनका लागि गोकुल ढकालले नेपाली जनसम्पर्क समितिबाट राजिनामा दिएका थिए ।
यस पटक अन्य संस्थामा भएका व्यक्ति नेजा कार्यसमितिमा अझै छन् । कोषाध्यक्ष प्रभात भट्टराई स्थानीय न्यूहम्सार नेपाली समाजमा सचिव छन् । यस्तै सदस्य अनिल अधिकारी विवादास्पद गैरआवासीय पत्रकार महासंघमा सचिव हुदाँहुदै नेजा कार्यसमितिमा निर्वाचित भएका थिए । तर उनीहरु दुबै जनाले दुई सस्था मध्ये एकमा पदीय जिम्मेवारी छोडेको सार्वजनिक भएको छैन ।
समाज टाइम सँगको कुराकानीमा बाँनियाले नेतृत्वले दवाव दिए पछि विवादमा बस्नु भन्दा राजिनामा दिएको प्रतिक्रिया दिए । ‘मैले नेजाको विधानलाई पूर्ण पालना र सम्मान गर्दै कार्यसिमिति पदबाट राजिनामा दिएको छु । यो विधान मलाई मात्र होइन नेजाका सम्पूर्ण कार्यसिमितिमा रहनु भएका साथीहरुलाई पनि हो ।’ बाँनियाले भने । उनले नेजामा रहेका अन्य साथीहरुले पनि विधानको पालना गर्ने अपेक्षा गरेको बताए ।
विधानको आफुखुसी व्याख्या गर्ने काम अन्य घटनामा पनि भएको खुलेको छ । सियाटल अधिवेशनमा महासचिवका उमेदवार किरण मरहट्टलाई ग्रिनकार्ड देखाउने कागजमा हस्ताक्षर गराइएको थियो । तर यस पटक विधान अनुसार कागजपत्र नपुगेका व्यक्तिलाई पनि पदाधिकारी चयन गरिएको पाइएको छ । नेजाका पूर्व सल्लाहाकार तथा तत्कालिन समयका निर्वाचन आयुक्त तारा बरालले सो समयमा उजुरी परेर आफुहरुले कबुलियत नामा गराइएको तर यस पटकको घटना थाहा नभएको बताए । ‘यस पटक के भयो मलाई थाहा भएन अहिले त म सल्लाहाकार पनि छैन तर विधान सबैलाई एक हुनु पर्छ ।’
यस पटकको भर्जिनिया अधिवेशनमा विधान अनुसार कागज पत्र नपुगेका व्यक्तिलाई पदाधिकारी बनाइएको मात्र होइन । विधान अनुसार सदस्यता नभएको व्यक्तिलाई पनि पदाधिकारी बनाइएको खुलेको छ । विधानले सदस्यता लिएकै बर्ष कार्यसमितिमा बस्न नपाउने भनेको छ ।
धारा १२ को उपदफा ३ मा भनिएको छ, सदस्यता लिएकै वर्ष उमेदवार बन्न पाइने छैंन् । उम्मेदवार हुनका लागि कम्तीमा एक वर्ष सदस्यता लिएको पुरा हुनुपर्नेछ ।’
यस्तै सोही धाराको उपदफा चारमा ‘निर्वाचन समितिले विधान अनुसार उम्मेदवारी प्रक्रिया पुरा भए, नभएको छानबिन गर्नेछ ।’
उपदफा पाँचमा ‘अधिवेशनमा भागलिन योग्य सदस्यहरूको नामावली कार्यसमितिले १ महिना पहिले नै टुङगो गरेर सबै सदस्यहरूलाई जानकारी गराउनु पर्नेछ ।’ भन्ने व्यवस्था छ ।
कार्यसमितिले अधिवेशन हुन एक महिना अगाडि पठाएको इमेलमा एक सय ३९ जना सदस्यको नामावली थियो । तर अघिल्लो रात एक सय ४४ जनाको नाम टासिएको थियो । पछि थपिएको पाँच जना मध्येकी एक लिला ओझाले समयमा नै सदस्या नविकरण नगरेको बताइएको छ । तत्कालिन महासचिव किरण मरहट्टा सँग मनमुटाव भएको कारण उनले सदस्यता नविकरण नगरेको तर पछि निर्वाचन समिति र कार्यसमितिको मिलोमतोमा विधान नै मिच्ने काम भएको खुलेको हो ।
जवकी धारा १२ को दफा दशमा लेखिएको छ,’ दुई वर्षमा हुने अधिवेशनको एक महिना पहिलेसम्म सदस्यता नवीकरण नगरेको, सदस्यता नलिएको र सदस्यता शुल्क नतिरेको सदस्यको अधिवेशनमा सहभागी हुन पाउने छैन ।’
मौका मिले अरुको बेडरुम सम्म पुगेर खवर ल्याउने र सबैलाई निति नियम र विधानको कुरा सिकाउने पत्रकारहरुको सस्थामा नै यस्तो व्यथिति हुनु र त्यसलाई तै चुप मै चुपको रुपमा स्वीकारिएको हो वा नेजा निन्द्रामा हो ?