साउदी जेलमा भएका कार्कीलाई नेपाल फर्काउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार धनकुटाको चौबिसे गाउँपालिका वडा नं.–४ निवासी कार्कीका बुबा सहितको टोलीले प्रधानमन्त्रीलाई बालुवाटरमै भेटेर नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीले सक्दो पहल गर्ने वचन दिएका हुन् ।
कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएको उनको सचिवालयले जनाएको छ।
“वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।” प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले बताएको छ ।
कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।