घरेलु सिरिजमा नेपालको क्लिन स्विप : स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्वीप गरेको छ ।
घरेलु मैदानमा भएको सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्याण्डलाई २ विकेटले हराउँदै लगातार चौंथो जित निकालेको हो ।नेपालले एक सय १३ रनको लक्ष्य पुरा गरेको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले ७ चौका र ४ छक्का प्रहारगर्दै १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले ।
उनले नेपालका लागि सातौं अर्धशतक बनाए। रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २÷२ तथा यूएई,नामिबियाविरुद्ध १÷१ अर्धशतक बनाएका थिए ।
करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७, आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।
ओपनर कुशल भुर्तेल, सन्दीप जोरा समान एक रनमा पेभिलिएन फर्किए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए ।
नेपालको जितमा रोहित पौडेल र करण केसीले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ तथा सफियान सरिफ,माईकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १÷१ विकेट लिए ।
त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाए । ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेलेका उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ तथा करण केसीले ३ विकेट लिए भने कुशल मल्ल र ललित नारायण राजवंशीले समान १÷१ विकेट लिए ।
यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् । यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।
२०१९ देखि सुरु विश्वकप लिग टूमा आफ्नो अन्तिम खेल हारेपनि स्कटल्याण्ड तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको छ । उसले आजै विजेता ट्रफि पाएको छ।
मंगलबार स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ ।
लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ । यस्तै नेपाल लिग टूको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बनेको छ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ। बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।