स्वस्थानी व्रत एवं माघ स्नानको आज समापन गरिदैँ
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नानको आज अन्तिम दिन हो । यस अवसरमा एक महिनासम्म साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला लाग्दछ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी वर्त टुङ्गाउने शालिनदीका एक पुजारी ध्रुव प्रसाद दाहालले बताए ।
यस्तै अर्का पूजारी नवराज आचार्यले पनि विधि अनुसार वर्त सक्ने अवस्थामा चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि रहेको बताए ।
शुक्ल पक्षमा सुरु हुने यो वर्त बस्दा हात गोडाका नङ काटी स्नान गरी शुद्ध हुने, एक महिनासम्म मासु, नुन खान नहुने वर्त सकाउने अन्तिम दिनमा शालिनदीमा आएर शिवलिङ्गको स्थापना गरेर १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षताले पूजा गर्ने त्यसपछि श्रिमान, छोरालाई दिने र बाकी रहेको सय आफैले ग्रहण गरेर वर्त सकाउने ।
आजको दिन व्रतालुहरु रातभर जाग्राम बसेर देवीको माहात्म्य सुन्ने सुनाउने गर्दछन् । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
यस्तै स्वस्थानि वर्तको व्यवस्थापन गर्ने पूजारी तीर्थ श्रेष्ठले पनि आस्था र विश्वासका साथ वर्त बस्ने हो भने चाहेको सबै पूरा हुने विश्वास सत्य भएको बताए । उनले शुद्ध मनले विधिपूर्वक वर्त बस्ने हो भने मनले चिताएको पुग्ने विश्वास पनि रहेको बताए ।