अपराधी, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्न प्रहरी महानिरीक्षको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउए ।
उनले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिए ।
उनले फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन दिएका छन् ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।