नेपालमा कहाँ कहाँ छन् पर्यटक प्रहरी ?
काठमाडौं । पर्यटकको सुरक्षाका लागि ‘पर्यटक प्रहरी’ नारासहित पर्यटकको नेपाल बसाइ सुखद र सुरक्षित बनाउन उपत्यकासहित देशका विभिन्न ठाउँमा पर्यटक प्रहरी एकाइ रहेका छन् ।
उपत्यका अन्तर्गत प्रधान कार्यालय भृकुटीमण्डपसहित ठमेल, वसन्तपुर, पशुपति, स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बौद्धमा छन् । यस्तै, पाटन, भक्तपुर तथा नगरकोटमा पनि पर्यटक प्रहरी एकाइ छन् ।
यसैगरी, उपत्यकाबाहिर प्रदेश नम्बर १ मा झापाको काँकडभिट्टा र सोलुखुम्बुको लुक्लामा छन् । साथै, मधेस प्रदेशमा जानकी मन्दिर धनुषा र वीरगन्जको पर्सामा पर्यटक प्रहरी एकाइ छन् ।
यस्तै, बागमती प्रदेशमा चितवनको सौराहा, पटिहानी र रसुवाको स्याफ्रुबेँसीमा एकाइ छन् । सबैभन्दा धेरै पर्यटक प्रहरी कार्यालय गण्डकी प्रदेशमा छन् ।
यहाँ पोखरा, धम्पुस, धान्द्रुक, बिरेठाँटी, चामे, धारापानी (मनाङ) मुस्ताङको जोमसोम, म्याग्दीको घोरेपानी र तनहुँको बन्दीपुरमा गरी नौवटा कार्यालय छन् । यस्तै, लुम्बिनी प्रदेशमा बेलहिया र लुम्बिनी गरी दुईवटा पर्यटक प्रहरी एकाइ रहेका छन् ।
– पर्यटन मन्त्रालय

















