उद्घाटनका दिन पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान नहुने
पोखरा । आइतबारबाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको सम्भावना हाललाई टरेको छ । आन्तरिक उडान आइतबारबाटै सुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान पछाडि धकेलिएको हो ।
पोखराबाट भारतको बनारसमा पहिलो अन्तर्राष्ट्रिय उडान भर्न बुद्ध एयरले प्रक्रिया अगाडि बढाएको थियो । आइतबार ‘डेमोन्स्ट्रेसन’ उडान र मार्चदेखि नियमित उडान भर्ने बुद्ध एयरको योजना थियो । तर भारतीय पक्षबाट अनुमति नमिल्दा हाललाई अन्तर्राष्ट्रिय उडान धकेलियो ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि कम्पनीले दुई साता अघि नागरिक उड्डयन प्राधिकरणमा निवेदन बुझाएको थियो । प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षलाई पत्राचार गरेको थियो । ‘हाम्रो पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय उडानतर्फ नै थियो,’ उनले भने, ‘स्वीकृति नआइ सुरु गर्न मिलेन ।’
प्राधिकरणका पोखरा कार्यालय प्रमुख विक्रम गौतमले अनुमतिका लागि प्रक्रियामा रहे पनि आइतबार नै अन्तर्राष्ट्रिय उडान हुने सम्भावना भने नरहेको बताए । ‘सरकार र स्वयं विमान कम्पनीहरुले नै प्रयास गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि चासो पनि देखाइरहेका छन्,’ उनले भने, ‘हामी अनुमतिकै प्रतीक्षामा छौं ।’ भारतले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई जानकारी नभएको बताए ।
उनका अनुसार विमानस्थलको क्षमताअनुसार हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज भने आइतबार काठमाडौंबाट पोखरा आउने भएको छ । आइतबार बिहान ७ बजे केही मिनेटको फरकमा बुद्ध र यति एयरलाइन्सका जहाज नवनिर्मित विमानस्थलमा ओर्लने छन् । प्राधिकरण र पोखराका पर्यटनसँग सम्बन्धित संघ संस्थाले ती जहाजबाट आउने यात्रु र चालक दललाई स्वागत गर्ने छन् । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलको औपचारिक उद्घाटन गर्ने छन् । विभिन्न जातजातिको झाँकी र्याली विमानस्थलमा हुने छ । ‘विमानस्थल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने, ‘सबै तयारी अवस्थामा छौं ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नयाँ विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय होस् भन्ने व्यवसायीले चाहँदाचाहँदै पनि प्रयास सफल हुन नसकेको बताए । अन्तर्राष्ट्रिय उडान निकट भविष्यमै सुरु हुनेमा उनी आशावादी छन् । भन्छन्, ‘एयरलाइन्सले चाहना देखाउँदादेखाउँदै पनि अनुमतिकै कारणले अन्तर्राष्ट्रिय उडान हुन सकेन । प्रयास निरन्तर जारी छ ।’
नयाँ विमानस्थलबाट बुद्ध, यति, गुण, सौर्य र श्री एयरलाइन्सले दैनिक उडान भर्ने छन् । विमानस्थल हाल दिउँसो मात्रै सञ्चालन हुने छ । फेब्रुअरीबाट भने राति पनि सञ्चालनमा आउने छ । पुरानो विमानस्थलबाट केही समय जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट सञ्चालन हुने छन् ।
इपिसी (इन्जिनियरि, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनेको हो । विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्छन् । ‘फोर डी’ श्रेणीको भएकोले यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टीबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवै तर्फबाट उडान तथा अवतरण गर्न मिल्छ ।
विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिन्छ । तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न मिल्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गराउने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्छ ।
यो विमानस्थल नेपालमा भएका अन्यभन्दा फरक प्रकारको छ । नेपालमै पहिलोपल्ट विमानस्थलमा प्यासेन्जर बोर्डिङ ब्रीज राखिएको छ । प्यासेन्जर टर्मिनलबाट यात्रु सिधैं जहाजमा पुग्न सक्छन् भने जहाजबाट सिधैं टर्मिनल बिल्डिङमा फर्कन सक्छन् । झन्डै २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण भएको हो । उक्त ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा २०१७ जुलाई ११ बाट विमानस्थल निर्माण सुरु भएको हो । २०२१ जुलाई १० मा म्याद सकिएपछि दुईपल्ट थपिएर हाल निर्माण पूरा भएको हो ।















