सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन
प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
प्रधानसेनापति शर्माले नेपाली सेना सवै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्नुहुँदै राज्यमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको नि:स्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गर्नुभएको थियो,’विज्ञप्तिमा भनिएको छ ।
निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उनले सेनालाई निर्देशन दिएका थिए ।
नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिनुभएको थियो।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।