गठबन्धनलाई सिट बाँडफाँटमा सकस
काठमाण्डौं । सत्तासिन दलका गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।
आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुन: बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए ।
आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको बताइएको छ ।
सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको अपेक्षा छ ।