एन्जाद्वारा ग्राण्डमास्टर दिवाकर महर्जनलाई सिड्नीमा स्वागत
सिड्नी, अस्ट्रेलिया / अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) ले अमेरिका निवासी तेक्वान्दोका ग्राण्डमास्टर दिवाकर ‘डान’ महर्जन र समाज टाइम्सका प्रधान सम्पादक बिष्णुहरि घिमिरेलाई सोमबार सिड्नीमा स्वागत गरेको छ।
एन्जा अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा महर्जन र घिमिरेलाई खादा लगाएर स्वागत गरिएको थियो।
ग्राण्डमास्टर महर्जन नोभेम्बर २८ र २९ तारिख मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि अस्ट्रेलिया आएका हुन्। यस्तै प्रधान सम्पाक घिमिरे पनि यसै च्याम्पियनसिपका लागि अस्ट्रेलिया आएका हुन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष निजेन चौलागाईं, एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्लेलगायतले स्वागत मन्तव्य राख्दै च्याम्पियनसिपको सफलताको शुभकामना दिएका थिए।
एनआरएनए आइसीसी उपाध्यक्ष पोखरेलले मेलबर्नमा आयोजना हुने च्याम्पियनसिपलाई आफ्नो साथ र समर्थन रहने बताए। उनले प्रतियोगिताको सफलताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य राजेश केसी, पत्रकार राजन घिमिरेलगायतको उपस्थिति थियो।
कार्यक्रममा ग्राण्डमास्टर महर्जनले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाउने उद्देश्यले २६ वर्षअघि नेपालबाटै आइओएफटीसी सुरु गरेको बताए। विदेशमा रहे पनि नेपालको तेक्वान्दो खेलको विकासका लागि आफू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
महर्जन अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्ने पहिलो नेपाली हुन्। उनले सन् १९९५ मा अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्डमा यूएवर्ल्ड क्लास तेक्वान्दो हलिउड स्थापना गरेका थिए। सन् २००० देखि आइओएफटीसी सुरु गरेका महर्जन यस प्रतियोगिताका निर्देशकसमेत हुन्।
महर्जनका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न देशका करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको रजत जयन्तीका अवसरमा १५औँ संस्करण अघिल्लो वर्ष नेपालमा आयोजना गरिएको थियो।
कार्यक्रममा समाज टाइम्सका प्रधान सम्पादक विष्णुहरि घिमिरेले महर्जनले विदेशमा नेपालीको शिर उँचो बनाउने इतिहास रचेको बताए।
विदेश पुग्ने नेपालीले भाँडा माझ्ने र शौचालय सफा गर्ने काम मात्र गर्छन् भन्ने भाष्य बनिरहेको सन्दर्भमा ३१ वर्षअघि नै अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गरेर अरूलाई खेल सिकाउनु सामान्य उपलब्धि नभएको घिमिरेले बताए।
आठौँ डान प्राप्त महर्जनको उपलब्धि र सफलताप्रति सबै नेपालीले गर्व गर्नुपर्ने उनको भनाइ थियो।



















