विमानस्थलमा ठूलो मात्रामा हेरोइनसहित भारतीय नागरिक पक्राउ, अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीलाई बधाई
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइन बरामद गरेको घटनामा अमेरिकी दूतावासले नेपाल प्रहरीलाई बधाई दिएको छ। गत नोभेम्बर १४ मा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई उक्त परिमाणको हेरोइनसहित पक्राउ गरेको थियो।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुने निवासी ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार यात्रुको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले यात्रु पहिचान तथा निगरानी प्रक्रियामार्फत उनीमाथि निगरानी गरेको थियो। जाँचका क्रममा उनको झोलाभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाइएको ५.५ किलो सेतो हेरोइन फेला परेको थियो।
बरामद हेरोइनको नेपाली बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त लागूऔषध भारत पुर्याउने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार तिघारे यसअघि पनि लाओसबाट नेपाल हुँदै भारत जाने गरेको पाइएको छ। उनको यात्रासम्बन्धी विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमणसमेत देखिएको छ। प्रहरीले उनको अन्तर्राष्ट्रिय सञ्जाल र लागूऔषधको स्रोत तथा गन्तव्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीको यो सफलतामा बधाई दिँदै पक्राउमा अमेरिकी सहयोगमा सञ्चालित यात्रु पहिचानसम्बन्धी तालिम र लागूऔषध परीक्षण किटको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय लागूऔषध तथा कानुन कार्यान्वयन मामिला ब्युरो (आईएनएल) र संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) सँगको सहकार्यमा अमेरिकाले नेपाललाई लागूऔषध तस्करी नियन्त्रणमा सहयोग गर्दै आएको छ।
सीमापार लागूऔषध तस्करीविरुद्ध नेपालको प्रयास र समुदायलाई सुरक्षित राख्ने अभियानमा सहयोग गर्न पाउँदा अमेरिका गौरवान्वित रहेको दूतावासले जनाएको छ।



















