मेरिल्याण्डमा सेप्टेम्बर ५ मा भव्य रूपमा गौरा पर्व मनाइने, तयारी तीव्र
मेरिल्याण्ड, अमेरिका / अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक र ऐतिहासिक सांस्कृतिक चाड ‘गौरा पर्व’ भव्य रूपमा मनाउने भएका छन्।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजनामा विगत चार वर्षदेखि निरन्तर मनाइँदै आएको यो पर्व यस वर्ष आगामी सेप्टेम्बर ५, तारिख मेरिल्याण्डस्थित हिन्दु बुद्ध मन्दिरमा आयोजना हुन लागेको हो।
प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको पुस्तान्तरणमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयले जानकारी दिए ।
गौरा व्यवस्थापन समितिले जनाए अनुसार आगामी शनिबार हुने उत्सवको पूर्वतयारी कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। हाल पर्वका लागि आवश्यक गौरा देवीको प्रतिमा बनाउने, परम्परागत बिरुडा अर्थात् क्वाटी तयार पार्ने, मन्दिर प्राङ्गणलाई ध्वजापताकाले सिङ्गार्ने, मुख्य गेट निर्माण गर्ने र देउडा खेलको विशेष तयारी गर्ने जस्ता कार्यहरू धमाधम भइरहेका छन्।
उक्त उत्सवमा धार्मिक तथा सांस्कृतिक रौनक झल्किने गरी देवी पूजा, कलश यात्रा, फाग तथा माइल गायन, हुड्के र भुवो नाच, खुला देउडा खेल, देउडा प्रतियोगिता तथा बिरुडा र प्रसाद वितरण जस्ता विविध कार्यक्रमहरू समावेश गरिएका छन्। साथै कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका स्थापित कलाकारहरूको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
‘हाम्रो संस्कृति, परम्परा र एकतालाई साथ दिऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस ऐतिहासिक पर्वलाई भव्य रूपमा सफल पार्न आयोजक समितिले सम्पूर्णमा हार्दिक अपिल गरेको छ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका महासचिव तथा गौरा व्यवस्थापन समितिका सदस्य हंसराज भाट र मिडिया संयोजक रमेश भट्टराईले एक संयुक्त वक्तव्य जारी गर्दै मेरिल्याण्ड, वासिङ्टन डिसी, भर्जिनिया र वरपरका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परम्परागत नेपाली पोशाकमा उपस्थित भई पर्वको गौरव बढाइदिनुहुन हार्दिक अनुरोध गरेका छन् ।














