टेक्ससमा दुई शहरमा गौरा पर्व मनाइँदै
टेक्सस, अमेरिका / अमेरिकाको टेक्ससका दुई शहरमा गौरा पर्व मनाइने भएको छ । सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजनामा ‘गौरा पर्व २०२६’ भव्य रूपमा मनाइने भएको छ।
टेक्ससका दुई ठुला सहरहरू अस्टिन र ड्यालासमा सेप्टेम्बर ५ र ६ तारिखमा विशेष सांस्कृतिक कार्यक्रमसहित गौरा पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
सुदूरपश्चिम नेपाली समाज टेक्ससका कार्यकारिणी बोर्ड सदस्य एवं अस्टिन गौरा कमिटीका संयोजक सुरेन्द्र प्रसाद अवस्थीका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाली समुदायलाई समेटेर दुई सहरमा बृहत् कार्यक्रम गर्न लागिएको हो।
संयोजक अवस्थीले दिएको जानकारी अनुसार कार्यक्रमको तालिका र मुख्य आकर्षणहरू यस प्रकार रहेका छन्:
अस्टिनमा सेप्टेम्बर ५ मा विशेष उत्सव
“हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो एकता” भन्ने मूल नाराका साथ सेप्टेम्बर ५ तारिख शनिवारका दिन अस्टिनमा गौरा पर्व मनाइनेछ। हट्टोस्थित पशुपति मन्दिर (1251 Co Rd 138, Hutto, TX 78634) मा दिउँसो ३ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने अवस्थीले बताए।
कार्यक्रममा आमन्त्रित चर्चित लोक तथा देउडा गायिका चाँदनी मल्ल र देउडा सर्जक एवं लोकगायक शंकर सिंह विष्ट को उपस्थितिमा जोडदार देउडा तथा सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्। यस कार्यक्रमलाई ग्रेटर अस्टिन नेपाली समाजले समेत सहयोग गरेको छ।
ड्यालासमा सेप्टेम्बर ६ मा भव्य निरन्तरता
अस्टिनको कार्यक्रम लगत्तै भोलिपल्ट अर्थात् सेप्टेम्बर ६ तारिख आइतबारका दिन ड्यालासमा पनि भव्य रूपमा गौरा पर्व मनाउने तयारी गरिएको संयोजक अवस्थीले जानकारी दिए। ड्यालसको कार्यक्रममा पनि आमन्त्रित कलाकारद्वय चाँदनी मल्ल र शंकर सिंह विष्टकै विशेष उपस्थिति रहनेछ।
गौरा कमिटीका संयोजक सुरेन्द्र प्रसाद अवस्थीले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगिसकेकाले टेक्सस तथा वरपरक्षेत्रका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि उनले मिडियामार्फत हार्दिक निमन्त्रणा र अनुरोध समेत गरेका छन्।














