ह्यारिसबर्गमा तेस्रो ‘संगालो’ कथा वाचन : सात शहरबाट २४ प्रतियोगी सहभागी हुँदै
ह्यारिसबर्ग, पेन्सिलभेनिया / क्रियमाण फाउन्डेसनको आयोजनामा हुने तेस्रो वार्षिक ‘संगालो: रिडिङ फर रेजिलियन्स’ कथा वाचन प्रतियोगिता सात शहरका २४ प्रतियोगितले भाग लिने भएका छन्।
प्रतियोगिता सेप्टेम्बर ५, शनिबार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा (6300 Chambers Hill Road, Harrisburg, PA 17111) आयोजना हुदै छ ।
फाउन्डेशनका सिइयो भरत तिम्सिनाका अनुसार प्रतियोगितामा पेन्सिलभेनिया र ओहायोका विभिन्न शहरबाट ६ वर्षदेखि २० वर्षसम्मका २४ जना प्रतियोगी सहभागी हुने भएका छन्।
कार्यक्रम बिहान साँढे दश बजे देखि शुरु हुने जनाइएको छ ।क्रियमाण फाउन्डेसनले प्रतियोगितामा सहभागी हुने बालबालिका तथा युवाहरूको प्रस्तुति प्रत्यक्ष सुन्न सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
यस वर्षका प्रतियोगीहरू पेन्सिलभेनियाका ह्यारिसबर्ग, ल्यान्कास्टर, मेकानिक्सबर्ग र पिट्सबर्ग तथा ओहायोका कोलम्बस, क्लिभल्यान्ड र सिन्सिनाटीबाट सहभागी हुँदैछन्।
सामूहिक स्मृतिको मञ्चका रूपमा ‘संगालो’
‘संगालो’ केवल कथा वाचन प्रतियोगिता मात्र नभई समुदायका सामूहिक स्मृति, अनुभव र इतिहासलाई सम्झने तथा नयाँ पुस्तासँग जोड्ने साझा मञ्चका रूपमा विकास हुँदै गएको आयोजकले जनाएको छ।
‘कतिपय कथाहरू पुस्तकमा लेखिएर सुरक्षित हुन्छन् भने धेरै कथाहरू मानिसहरूको स्मृतिमै सीमित रहन्छन्। कतिपय आवाजहरू सुनिन्छन्, तर धेरै आवाजहरू समयसँगै ओझेलमा पर्छन्।’ सिइयो तिम्सिनाले भने, ‘त्यस्ता नसुनिएका तथा कम सुनिएका आवाजहरूलाई स्थान दिने, अग्रजहरूले भोगेका जीवनका अनुभव र संघर्षलाई सम्झने तथा ती अनुभवहरू नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘संगालो’ आयोजना हुँदै आएको हो।’
उनका अनुसार प्रतियोगितामा प्रस्तुत हुने कथाहरूमा समुदायले भोगेका बसाइँसराइ, विस्थापन, परिवार, त्याग, भाषा, पहिचान, संघर्ष, आशा, साहस, स्मृति र नयाँ सुरुवातका अनुभवहरू समेटिएका छन्।
नयाँ पुस्ताका आवाजबाट ती कथाहरू प्रस्तुत हुँदा ती केवल विगतका घटना वा अनुभवका कथा नभई समुदायको सामूहिक स्मृतिको हिस्सा बन्ने उनको विश्वास छ।
“‘संगालो’ शब्दको अर्थ नै विभिन्न कुरा एउटै ठाउँमा सँगाल्नु हो। यही भावनाअनुसार कार्यक्रमले पुस्तालाई पुस्तासँग, कथालाई कथाकारसँग र विगतलाई वर्तमानसँग जोड्ने प्रयास गर्नेछ।” तिम्सिनाले भने ।
नेपाली पढ्न जान्नु मात्र निर्णायक मापदण्ड होइन
तिम्सिनाका अनुसार ‘संगालो’मा प्रतियोगीको मूल्यांकन नेपाली भाषा कति राम्रोसँग पढ्न सक्छ भन्ने आधारमा मात्र गरिने छैन। त्यसैगरी, प्रस्तुत गरिने कथा राम्रो वा नराम्रो भन्ने विषय पनि निर्णायकहरूको मूल्यांकनको मुख्य आधार हुने छैन।
प्रतियोगीको मूल्यांकन मुख्यतः कथा प्रस्तुत गर्ने शैली, उच्चारण तथा शुद्धता, वाचन कौशल, दर्शकसँगको सम्बन्ध, आत्मविश्वास र प्रयास जस्ता पक्षमा केन्द्रित हुनेछ।
यसबाट नेपाली भाषा पढ्नमा फरक–फरक स्तर भएका बालबालिका तथा युवाहरूलाई आफ्नो क्षमता र अभिव्यक्ति प्रस्तुत गर्ने समान अवसर प्राप्त हुने उनको भनाइ छ।
बालबालिका तथा युवासँग काम गरेका अतिथि तथा निर्णायक
भूटानी–नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि सक्रिय सम्मानित साहित्यकार तथा भाषा अभियन्ता गंगा लामिटारे ‘संगालो’ कथा वाचन प्रतियोगिताको पहिलो वर्षदेखि नै निर्णायकका रूपमा सहभागी हुँदै आएका छन् ।
यस वर्षका अन्य निर्णायकहरूमा पण्डित हेम ढकाल,अर्जुन रसाइली,निशा लीला,द्रौपदी प्रधान,मुस्कान बलम्पाकी,तिला आचार्य र टीकाराम राई रहेको आयोजको भनाइ छ ।
‘बालबालिका तथा युवासँग काम गरेको उहाँहरूको अनुभवले प्रतियोगिताको मूल्यांकनलाई केवल भाषिक दक्षतामा सीमित नराखी प्रस्तुति, आत्मविश्वास, प्रयास, अभिव्यक्ति तथा दर्शकसँगको सम्बन्ध जस्ता पक्षमा केन्द्रित गर्न सहयोग गर्ने छ।’ तिम्सिनाले भने ।
यस वर्ष प्रस्तुत हुने कथाहरू
प्रतियोगितामा विभिन्न स्रष्टाका कथाहरु प्रतियोगिले वाचन गर्ने छन्। जसमा गंगा लामिटारेका बुढाथोकीको अमर गाथा,भाषाको मलामी र सपनाको सन्देश रहेका छन्।
यस्तै विष्णु लुइँटेलका कवि नारायण प्रसाद लुइँटेल र ग्यास च्याम्बरको यात्रा रहेका छन्।
दीपेश चापागाईंका आशाको प्रतीक्षा र आमाको त्याग तथा ओम घिमिरेको जीवन भाइको दसैं र देश गुमेको दिन पनि प्रतियोगिले वाचन गर्ने छन्।
भरत तिम्सिनाका जन्तरेको कथा र झोले बाजे, निशा लीलाको माया भट्टराई तथा गोविन्द हुमागाईंको बसाइँसराइ र नयाँ सुरुवात, यस्तै टीका ढुंगानाको फेरि उठ्ने ठाउँ बाँकी हुन्छ, द्रौपदी प्रधानको पवित्र सम्बन्धमा अविश्वासको पर्खाल र शेखर काकुको कर्मको पसिना र घिउको बास्ना कथा पनि वाचन हुने छ।
यसै गरि जे. एन. दाहालको अमेरिका आउँदा,रिमेन आलोकको घर छोड्दा बोकेका सम्झनाहरू, देवी तिम्सिनाको एउटा बीउको यात्रा, पातलो अन्तरेको आँशुबाट जन्मिएको साहस, भक्त घिमिरेको आयुको पुस्ता र खरानीको दाम्लो पनि वाचन हुने छ ।
साथै मधु घिमिरेको गन्तव्यविहीन यात्रा,देवी दाहाल दागानेको दोस्रो कालो नवरात्रि र राम कार्कीको शिविर स्थापना रोक्ने असफल प्रयास कथा प्रतियोगिद्वारा वाचन हुने छ ।
‘यी कथाहरूमा व्यक्तिगत अनुभवसँगै समुदायको विगत, संघर्ष, विस्थापन, बसाइँसराइ, सम्बन्ध, भाषा, पहिचान, आशा र नयाँ जीवनको खोजीका विविध पक्षहरू प्रतिबिम्बित हुनेछन्।’ तिम्सिनाले भने ।
समुदायलाई प्रत्यक्ष सहभागी हुन आह्वान
क्रियमाण फाउन्डेसनले ६ वर्षदेखि २० वर्षसम्मका २४ जना प्रतियोगीले प्रस्तुत गर्ने प्रेरणादायी कथाहरू प्रत्यक्ष सुन्न सम्पूर्ण समुदायलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ।
आयोजकका अनुसार ‘संगालो’ नयाँ पुस्तालाई केवल कथा वाचनको अवसर दिने कार्यक्रम नभई अग्रज पुस्ताका अनुभव र समुदायको इतिहाससँग जोड्ने माध्यम पनि हो।
‘आउनुहोस्,हाम्रा अग्रजहरूलाई सम्झौँ।ओझेलमा परेका आवाजहरू सुनौँ।हाम्रा सामूहिक स्मृतिहरूलाई सँगालौँ र हाम्रा कथाहरू अर्को पुस्तासम्म पुर्याऔँ।’ तिम्सिनाले भने ।















