तामाङ सोसाइटी अफ अमेरिकामा चाँदनी लामाको नेतृत्वमा अन्तरिम कार्यसमिति
न्यु योर्क / तामाङ सोसाइटी अफ अमेरिकाको विशेष साधारण सभाले चाँदनी लामाको अध्यक्षतामा ९ सदस्यीय अन्तरिम कार्यसमिति गठन गरेको छ।
अगस्ट ८, २०२६ मा न्यु योर्कमा सम्पन्न विशेष साधारण सभाले निवर्तमान अध्यक्ष तुलबहादुर तामाङ नेतृत्वको कार्यसमिति विघटन गर्दै नयाँ अन्तरिम कार्यसमिति गठन गरेको हो।
संस्थाका संस्थापक अध्यक्ष सुवास लामाको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
२०२५–२०२७ कार्यकालका लागि गठित अन्तरिम कार्यसमितिको उपाध्यक्षमा अकबर तामाङ, महासचिवमा सोनिया तामाङ, सचिवमा पासाङ तामाङ, कोषाध्यक्षमा निरु तारा योञ्जन र सहकोषाध्यक्षमा निमा घ्याम्चो तामाङ चयन भएका छन्।
त्यसैगरी बोर्ड अफ डाइरेक्टर सदस्यमा सूर्यबहादुर तामाङ, साङ डुक्पा योञ्जन र सुमन लामा चयन भएका छन्।
विशेष साधारण सभा बोलाउनुको मुख्य कारण संस्थाको आर्थिक हिनामिना तथा घर खरिदसम्बन्धी विषयमा गैरकानुनी काम भएको आरोप रहेको जनाइएको छ। संस्थाको विधानअनुसार २५ प्रतिशत साधारण सदस्यको हस्ताक्षर संकलन गरी विशेष साधारण सभा बोलाइएको हो।
संस्थाको विधानले प्रत्येक वर्ष मार्च महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ। निर्धारित समयभित्र वार्षिक साधारण सभा हुन नसकेपछि विधानको धारा ८.१ बमोजिम विशेष साधारण सभा बोलाइएको र सोही सभाबाट नयाँ अन्तरिम कार्यसमिति गठन गरिएको जनाइएको छ।
सर्वसम्मत रूपमा चयन भएको अन्तरिम कार्यसमितिले तामाङ सोसाइटी अफ अमेरिकाको २०२५–२०२७ कार्यकालको बाँकी अवधि सम्हाल्नेछ। समितिले संस्थाका नियमित गतिविधि सञ्चालन गर्नुका साथै बाँकी कार्यकाललाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पाएको छ।
विशेष साधारण सभाबाट नेतृत्व परिवर्तन भएसँगै संस्थाभित्र देखिएका विवाद र असहज परिस्थितिलाई समाधान गर्दै संस्थागत गतिविधिलाई नियमित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।














