अमेरिकामा सात जना भारतीय ट्रक चालकहरू पक्राउ, नक्कली लाइसेन्स र तस्करीको आरोप
वासिङ्टन / अमेरिकामा अवैध रूपमा बस्दै आएका ७ जना भारतीय ट्रक चालकहरू पक्राउ परेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) ले जनाएको छ ।
डीएचएसले व्यावसायिक चालक अनुमति पत्र (सीडीएल) को दुरुपयोग गर्ने र सडक दुर्घटना निम्त्याउने गैरकानुनी आप्रवासीहरू विरुद्ध देशव्यापी कडा कदम चाल्दा यो सफलता हात पारेको जनाएको छ ।
डीएचएसका अनुसार अमेरिकामा वैध कागजात विना बसेका यी भारतीयहरूले विभिन्न राज्यबाट व्यावसायिक ट्रक चलाउने अनुमति पत्र (सीडीएल) लिएर गाडी चलाउँदै आएका थिए।
पक्राउ परेका र कानुनी कारबाहीको दायरामा आएका भारतीयहरूमा गुरप्रित सिंह र जसवीर सिंहलाई क्यालिफोर्निया राज्यले ट्रक चलाउने लाइसेन्स दिएको थियो।
उनीहरू सन् २०२६ को जनवरीमा इन्डियाना राज्यमा एउटा ठुलो सेमी-ट्रक भित्र तीन सय पाउन्डभन्दा बढी कोकिन लुकाएर तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका थिए।
यस्तै राजिन्डर कुमार नोभेम्बर २०२५ मा ओरेगन राज्यमा चलाएको ट्रेलर दुर्घटना हुँदा एक नवविवाहित अमेरिकी जोडीको घटनास्थलमै मृत्यु भएको थियो।
हरजिन्डर सिंहले अगस्ट २०२५ मा फ्लोरिडाको राजमार्गमा नियम विपरीत ट्रक यू-टर्न गर्दा भएको भीषण दुर्घटनामा तीन जना सर्वसाधारणको ज्यान गएको थियो।
सुखदेव सिंहले मार्च २०२६ मा इन्डियानामा एउटा गम्भीर सडक दुर्घटना गराएका थिए, जसमा एक अमेरिकी नागरिक गम्भीर घाइते भई अस्पताल भर्ना भएका थिए।
प्रताप सिंहले जुन २०२४ मा क्यालिफोर्नियामा तीव्र गति र लापरबाहीका साथ ट्रक चलाएर दुर्घटना गराउँदा ५ वर्षीया बालिका डलिला कोलमेन गम्भीर घाइते भएकी थिइन्।
अनमोल अनमोल न्यु योर्क राज्यबाट आफ्नो नामको ठाउँमा “नो नेम गिभन अनमोल” लेखिएको शङ्कास्पद लाइसेन्स लिएको आरोपमा उनलाई इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले अक्टोबर २०२५ मा पक्राउ गरेको थियो।
होमल्याण्ड सचिव मार्कवेन मुलिनले गैरकानुनी रूपमा देशमा बसेका व्यक्तिहरूले यसरी भारी सवारी साधन चलाउँदा आम अमेरिकी नागरिकको जीवन गम्भीर खतरामा परेको बताए ।
“हामी सडकमा निर्दोषहरूको ज्यान जोखिममा पार्ने यस्ता अवैध चालकहरू र उनीहरूलाई काममा राख्ने कम्पनीहरूमाथि निरन्तर कडा कानुनी कारबाही जारी राख्नेछौँ।” सचिव मुलिनले भने ।
‘अपरेशन हाइवे शिल्ड’ मार्फत हालसम्म आठ सय भन्दा बढी अयोग्य विदेशी चालकहरूलाई सडकबाट हटाएको र यो धरपकड अभियान अझ तीव्र पारिने पनि डिएचएसले जनाएको छ।














