शिकागोमा आईस अधिकारीलाई गाडीले किचेर घाइते बनाउने मेक्सिकन नागरिक पक्राउ
सिकागो,इलिनोइस / अमेरिकाको इलिनोइस राज्यको शिकागोमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एक अधिकारीलाई गाडीले ठक्कर दिएर घाइते बनाएको आरोपमा मेक्सिकोका नागरिक पक्राउ परेका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले नोभेम्बर १० मा जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्ने व्यक्ति जोसे जुआन गार्निका–नारान्जो हुन्। उनलाई यसअघि सातपटक अमेरिकाबाट देशनिकाला गरिएको विभागले जनाएको छ।
गार्निका–नारान्जोलाई सन् २०१३ मा मात्रै सातपटक अमेरिकाबाट देशनिकाला गरिएको थियो। त्यसपछि उनले कहिले र कहाँबाट पुनः अवैध रूपमा अमेरिका प्रवेश गरे भन्ने खुलेको छैन।
आइसको इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन्स (ईआरओ) शिकागोको टोलीले शिकागो हाइट्समा लक्षित कारबाहीका क्रममा गार्निका–नारान्जोलाई गाडी रोकेर नियन्त्रणमा लिन खोजेको थियो। उनीमाथि यसअघि कुटपिट र घरेलु हिंसासम्बन्धी घटनामा पक्राउ परेको अभिलेख रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
अधिकारीहरूले गाडीको इन्जिन बन्द गर्न निर्देशन दिए पनि उनले अटेर गरेका थिए। त्यसपछि अधिकारीहरूले उनलाई गाडीबाट बाहिर निकाल्न खोज्दा उनी गाडी तीव्र गतिमा अघि बढाएका थिए। त्यसबेला एक आइस अधिकारी चालकपट्टिको ढोकाबाट आधा शरीर गाडीभित्रै रहेको अवस्थामा थिए।
गार्निका–नारान्जोले गाडी सडकको बीचमा रहेको डिभाइडरमाथि चढाएर अगाडि बढाउँदा अधिकारी गाडीबाट बाहिर खसेका थिए। त्यसपछि गाडीले उनलाई ठक्कर दिएको र चालक घटनास्थलबाट फरार भएको डीएचएसले जनाएको छ।
घटनामा अधिकारीको खुट्टामा चोट लागेको थियो। उनलाई अस्पताल लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको विभागले जनाएको छ। घटनाकै दिन पछि आइसका अधिकारीहरूले गार्निका–नारान्जोलाई पक्राउ गरेका थिए।
होमल्यान्ड सेक्युरिटी सचिव मार्कवेन मुलिनले घटनाप्रति प्रतिक्रिया दिँदै गार्निका–नारान्जोले गाडीलाई हतियारका रूपमा प्रयोग गरी आइस अधिकारीमाथि आक्रमण गरेको आरोप लगाएका छन्। उनले अधिकारी अस्पताल भर्ना हुनुपरेको तर अहिले डिस्चार्ज भइसकेको बताएका छन्।


















