बीसीसीपीएको विवाद : युवराज कोइरालाले बोलाए समुदायको आकस्मिक बैठक
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / भुट्नीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (बीसीसीपीए) भित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको विषयमा छलफल गर्न युवराज कोइरालाले आजै आकस्मिक रूपमा समुदायको आम भेला आह्वान गरेका छन् ।
बीसीसीपीएको आधिकारिक फेसबुक पेजमा मंगलवार बिहान संस्थाको नेतृत्व परिवर्तन भएको सूचना सार्वजनिक भएको थियो ।
भुटानी कम्युनिटी ह्यारिसबर्गमा भाँडभैलो : अचानक भयो नेतृत्व परिवर्तन
संस्थाको बोर्डले युवराज कोइरालाको “राजीनामा स्वीकृत” भएको सूचना जारी गरेको थियो । तर समाज टाइम्स सँगको कुराकानीमा कोइरालाले आफूले राजीनामा नदिएको बताएका थिए ।
कोइरालाले आफूले त्यो निर्णय नस्विकार्ने र सबै विकल्प खोज्ने बताएका थिए । उनले पहिलो चरणमा समुदायको ढोका ढकढक्याएका हुन् ।
“बीसीसीपीएको नेतृत्व परिवर्तन र त्यसपछि उत्पन्न भएका चिन्ताजनक परिस्थितिहरूलाई ध्यानमा राख्दै, म आजै साँझ ७:०० बजे (95 Shannon Dr, Harrisburg, PA 17112) मा समुदायको बैठकका लागि अनुरोध गर्दछु। वर्तमान परिस्थितिको समीक्षा गर्न र आगामी सही दिशा तय गर्न तपाईँहरूको उपस्थिति र सुझाव महत्त्वपूर्ण हुनेछ।” समाज टाइम्सलाई प्राप्त कोइरालाले समुदायका अगुवाहरूलाई पठाएको सन्देशमा भनिएको छ ।
यसै बीच बीसीसीपीएको पछिल्लो घटना सँगै समुदायका अगुवाबाट प्रतिक्रियाहरू सार्वजनिक भएका छन्। बीसीसीपीएका पूर्व अध्यक्ष विनय लुइँटेलले अब चुप लागेर हेर्ने नभई आवश्यक ठाउँमा बोल्ने बताएका छन् ।
‘आफ्नै सामुदायिक संघ–संस्थाभित्र यति धेरै राजनीति, चलखेल र कपटपूर्ण व्यवहार देख्दा साँच्चै दुःख लाग्छ, आक्रोश पनि उठ्छ। हाम्रो समुदायमा पहिले यस्तो संस्कार थिएन, कम्तीमा मैले यसरी अनुभव गरेको थिइनँ।’ आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्,’समाजसेवा भनेको पद, शक्ति र व्यक्तिगत स्वार्थको खेल होइन, यो विश्वास, इमानदारी र सेवाको जिम्मेवारी हो।’
‘तर पछिल्लो समय देखिएका केही गतिविधिहरूले धेरै कुरा सोच्न बाध्य बनाएको छ। सायद अब समय आएको छ, चुप लागेर हेर्ने होइन, आवश्यक ठाउँमा बोल्ने।’ लुइँटेलले लेखेका छन् ।














