भुटानी कम्युनिटी ह्यारिसबर्गमा भाँडभैलो : अचानक भयो नेतृत्व परिवर्तन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / भुटानी कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनिया (बीसीसीपीए) मा अचानक नेतृत्व परिवर्तन भएको छ।
बीसीसीपीएको आधिकारिक फेसबुक पेजमा मंगलबार बिहान यसबारेमा जानकारी दिइएको हो।
युवराज कोइरालालाई हटाएर उपाध्यक्ष निसा गुरुङलाई अध्यक्ष बनाइएको जनाइएको छ। कोइरालाले यसै वर्षको जनवरीदेखि कार्यकाल सुरु गरेका थिए।
‘हामी बीसीसीपीएको सञ्चालक समितिको नेतृत्वमा केही परिवर्तनहरू भएको घोषणा गर्न पाउँदा खुसी छौं,’ सामाजिक सञ्जालमा लेखिएको छ, ‘हिजो राति बोर्डले हाम्रा निवर्तमान अध्यक्ष युवराज कोइरालाको राजीनामा स्वीकृत गर्यो।’
सोमबार साँझको बैठकले संस्थाकी उपाध्यक्ष निसा गुरुङलाई अध्यक्ष र बोर्ड सदस्य ओम अधिकारीलाई उपाध्यक्ष बनाइएको पनि सूचनामा उल्लेख छ।
‘हामी निसा गुरुङलाई बीसीसीपीएको सञ्चालक समितिको नयाँ अध्यक्ष बन्नुभएकोमा बधाई पनि दिन चाहन्छौं। निसाले सन् २०२६ जनवरीदेखि बोर्डमा उपाध्यक्षका रूपमा सेवा गर्दै आउनुभएको छ। त्यसैगरी, सन् २०२६ जनवरीदेखि नै बोर्डमा सेवा गर्दै आउनुभएका ओम अधिकारी हाम्रा नयाँ उपाध्यक्ष हुनुहुन्छ।’
यो निर्णय वैधानिक छैन, मान्दिनँ : युवराज कोइराला
बोर्ड बैठकको निर्णय सार्वजनिक भएलगत्तै युवराज कोइरालाले आफूलाई हटाइएको भनिएको सूचनालाई अवैध भन्दै आफूले राजीनामा नदिएको बताएका छन्।
उनले निष्पक्ष भूमिका निर्वाह गर्दा केही स्टाफ मेम्बरको दबाबमा गलत तरिकाले हटाइएको र कानुनी प्रक्रियामा जाने तयारी भइरहेको जानकारी दिएका छन्।
‘म स्वीकार्दिनँ। मैले अस्ति पनि स्वीकारेको होइन। मैले त्यो राजीनामा गरेकै थिइनँ। त्यो पनि मेरो राजीनामामा भोट गर्ने या के गर्ने, त्यो बाइलजले दिँदैन,’ समाज टाइम्ससँगको कुराकानीमा कोइरालाले भने।
‘बोर्ड चेयरले मिटिङ कल गर्छ। जुन मिटिङले गर्दा मेरो राजीनामा, मेरो पेरेन्ट राजीनामा हो, त्यसले मानिरहेका छन्, त्यो मिटिङ बोर्ड चेयरले कल गरेको होइन। त्यो मिटिङ इनभ्यालिड थियो,’ उनले भने।
उनले आफूलाई अनुसन्धान गर्न सजिलो मात्र बनाइदिएको बताए।
‘इन्भेस्टिगेसन हुन्छ भनेको थियो। त्यो इन्भेस्टिगेसनमा पनि मलाई कहिले केही थाहा पाइनँ मैले। स्कोप के हो, को-को इन्भेस्टिगेट भइरहेको छ, खै कति हो टाइमलाइन, केही थाहा थिएन।’
कोइरालाले आफूले विकल्प खोज्ने बताए।
‘म जे अप्सन एभेलेबल छ, जहाँ जानुपर्छ म रेडी छु। केही यसरी हुँदैन, संस्था यसरी चल्दैन, कमिटी यसरी चल्दैन। यो कमिटीको लागि राम्रो होइन,’ उनले भने, ‘मैले अस्ति पनि भनेको, मेरो संस्था, मेरो कमिटीको लागि म जानुपर्छ भने म रेडी छु। म निस्किनुपर्छ भने, त्यो राम्रो हुन्छ भने संस्था र कमिटीको लागि म निस्किन्छु। म निस्किँदाखेरि मलाई लाग्दैन अहिले मेरो कमिटी र संस्थालाई राम्रो हुन्छ।’
तर नवनियुक्त उपाध्यक्ष ओम अधिकारीले युवराज कोइरालाले राजीनामा दिएपछि बोर्ड बैठकले निर्णय गरेको बताए।
‘बोर्डको मिटिङ बसेपछि उहाँसँग कुरा हुँदा उहाँले पनि “एउटा अब कमजोरी भयो मेरोबाट, संस्थालाई त्यो कुराले हर्ट हुन्छ भने म रिजाइन गर्छु” भन्नुभयो। रिजाइन गर्नुभयो। त्यो रिजाइनलाई चाहिँ अहिले आएर बोर्डले एक्सेप्ट गरेको मात्रै हो।’
यसैबीच संस्थापक अध्यक्ष टीका ढुङ्गनाले युवराज कोइरालालाई यो अन्यायपूर्ण व्यवहारविरुद्ध कानुनी कदम चाल्न अनुरोध गरेका छन्।
‘वर्तमान कार्यसमिति सदस्यले अचानक बोर्ड बैठक डाकेर युवराज कोइरालालाई जबरजस्ती हटाएको भन्ने मैले सुनेँ। यो समुदायका लागि पूर्ण रूपमा अक्षम्य छ। हामीलाई एउटा बृहत् आमभेला आवश्यक छ र नयाँ अध्यक्षका लागि समुदायबाटै निर्वाचन गराइनुपर्छ,’ संस्थापक अध्यक्ष ढुङ्गनाले बीसीसीपीएले जारी गरेको सूचनामा कमेन्ट गरेका छन्।
‘म युवराज कोइरालालाई यो अन्यायपूर्ण व्यवहारविरुद्ध कानुनी कदम चाल्न अनुरोध गर्दछु,’ ढुङ्गनाले भनेका छन्।
किन आयो यो अवस्था ?
बीसीसीपीएको पछिल्लो सूचनाले नेपाली भाषी भुटानी समुदायभित्र गम्भीर विवाद उत्पन्न भएको छ।
संस्थाले आधिकारिक रूपमा अध्यक्षको राजीनामा स्वीकृत भएको घोषणा गरे पनि युवराज कोइरालाले त्यसलाई ‘अवैध’ भनेका छन्। यस्तै, संस्थापक अध्यक्ष टीका ढुङ्गनाले ‘जबरजस्ती गरिएको कदम’ भनेर टिप्पणी गरेका छन्।
पदाधिकारीहरू आधिकारिक रूपमा बोल्न चाहेका छैनन्। तर स्रोतका अनुसार जुलाई महिनाको अन्तिम साता बीसीसीपीएका पदाधिकारी र कर्मचारीहरू सामूहिक आवासीय पिकनिकमा जाँदा घटेको एउटा घटनाले यो पराकम्प ल्याएको हो।
रात्रिकालीन पिकनिकमा एक बोर्ड सदस्यले अर्को महिला सदस्यलाई दुर्व्यवहार गरेको र त्यस घटनामा अध्यक्षको भूमिकाप्रति प्रश्न उठाउँदै १८ जना कर्मचारीले सामूहिक राजीनामा दिएका थिए।
घटनामा संलग्न दुई बोर्ड सदस्यलाई मात्र अध्यक्ष कोइरालाले आफ्नो कोठामा लगेको र पुरुष सदस्यले राजीनामा गरेको भन्दै कर्मचारीले असन्तुष्टि जनाएका थिए।
तर संस्थाका एक पूर्वपदाधिकारी यसलाई बहाना मात्र भन्छन्।
‘यो अमेरिका हो, कोही कसैले यौन दुर्व्यवहार गरेको हो, त्यो लुकाउन वा पीडित पक्षलाई दबाब दिइएको हो भने त कानुनी उपचारमा जाने हो, अध्यक्षको राजीनामा माग्ने होइन,’ नाम उल्लेख गर्न नचाहाने ती पदाधिकारीले समाज टाइम्ससँग भने।
ती पदाधिकारीका अनुसार युवराज कोइरालालाई निवर्तमान अध्यक्ष तिलक निरौलाको पालामा बोर्डमा ल्याइएको हो।
‘गत वर्ष मात्र कानुन संकायमा स्नातक तह उत्तीर्ण गरेका कोइरालाले कार्यभार सम्हालेपछि निरौला पक्ष झस्किएको थियो,’ उनी भन्छन्, ‘उनीहरूलाई लागेको थियो होला, केटो नयाँ छ, हाम्रै पकडमा रहन्छ। तर कोइरालाले संस्थालाई सामूहिक रूपमा चलाउन खोजे, त्यो उनीहरूलाई मन परेन।’
हुन पनि कोइराला नेतृत्वमा आएपछि यसअघि पानी बाराबारको अवस्थामा रहेका नेपाली भाषी भुटानी समुदायमा नै काम गर्ने संस्थाहरूले कार्यगत एकता गरेका थिए।
यस्तै, पछिल्लो ‘गाला डिनर’मा अध्यक्ष कोइरालाले सबै पूर्वअध्यक्षलाई एउटै मञ्चमा ल्याएर पूर्वजहरूले संस्था र समुदायलाई दिएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका थिए।
गाला डिनरमा छुटेका संस्थापक अध्यक्ष टीका ढुङ्गनालाई पछि छुट्टै भेटेर सम्मान गरेका थिए।
‘त्यसमा सायद पहिलाको संस्थापन पक्ष खुसी थिएन कि?’ ती पदाधिकारीले भने।
यस्तै, कोइरालाले कर्मचारीको काम र आर्थिक पक्षमा पारदर्शिता खोज्दा पनि यो अवस्था निम्तिएको दाबी ती पदाधिकारीले गरेका छन्।
‘संस्था र संस्थाले सञ्चालन गरेको प्रोजेक्टबाट गरी दोहोरो तलब खाने तर पर्याप्त समय नदिने गरेको देखिएको रहेछ। यस्तै, कार्यालय सञ्चालनका लागि भाडा र अन्य खर्चमा पनि कोइरालाले पारदर्शिता खोजेका रहेछन्। सायद त्यो मन नपर्ने पक्षले जुलाईको त्यो रातको घटनामा बहाना पाए,’ ती पदाधिकारीले भने, ‘पुराना हिसाब अडिट हुने कुरामा कोही हच्किएको थियो जस्तो देखिन्छ।’














