अमेरिका–इरान तनावले डलर बलियो, तेलको मूल्य उकालो लाग्दा येनमाथि थप दबाब
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिका र इरानबिच पुनः बढेको सैन्य तनावका कारण विश्व वित्तीय बजारमा सुरक्षित लगानी ‘सेफ हेभेन’तर्फ आकर्षण बढेको छ।
यससँगै अमेरिकी डलर प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको तुलनामा मजबुत बनेको छ । कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिले महँगी र ब्याजदर वृद्धिको सम्भावनालाई थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन्।
बिहीबार अमेरिकी डलर जापानी येनको तुलनामा १६२.४२५ येनमा कारोबार भएको छ । जुन पछिल्लो एक साताकै उच्च स्तर नजिक हो। युरो १.१४२६ अमेरिकी डलर र बेलायती पाउन्ड १.३३९६ अमेरिकी डलरमा स्थिर रह्यो। अमेरिकी डलर सूचकाङ्क ‘यूएस डलर इन्डेक्स’ पनि १००.९६ अङ्कमा लगभग स्थिर रह्यो।
यता, न्युजिल्यान्डको केन्द्रीय बैङ्कले ब्याजदर बढाउनुका साथै आगामी दिनमा पनि कडा मौद्रिक नीति अपनाउने सङ्केत दिएपछि न्युजिल्यान्ड डलर ०.५ प्रतिशतले बढेर ०.५७२५ अमेरिकी डलर पुगेको छ। अस्ट्रेलियन डलर पनि ०.१ प्रतिशतले बढ्दै ०.६९३७ अमेरिकी डलरमा कारोबार भएको छ।
क्यापिटल डटकमका वरिष्ठ वित्तीय बजार विश्लेषक काइल रोड्डाका अनुसार मध्यपूर्वमा पुनः चर्किएको तनावले विश्व बजारमा युद्ध जोखिम बढाएको छ। उनका अनुसार तेलको मूल्यमा भएको वृद्धि अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय हो, किनभने यसले महँगी बढाउने र विश्वभरका केन्द्रीय बैङ्कहरूलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्न सक्छ।
तेलको मूल्य बढेसँगै लगानीकर्ताहरूले महँगी थप बढ्न सक्ने आकलन गरेका छन्। यसको प्रभाव स्वरूप अमेरिकी १० वर्षे र ३० वर्षे ट्रेजरी बन्डको प्रतिफल ‘यिल्ड’ सात साताकै उच्च स्तरमा पुगेको छ। बजारले यस वर्ष अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ ले ब्याजदर बढाउने सम्भावना झन् बढेको रूपमा मूल्याङ्कन गर्न थालेको छ।
जुन महिनाको फेडरल ओपन मार्केट कमिटी ‘एफओएमसी’ बैठकको विवरणले पनि महँगीबारे बढ्दो चिन्ता देखाएको छ। नयाँ अध्यक्ष केभिन वार्शको नेतृत्वमा बसेको पहिलो बैठकमा नीति निर्माताहरूबिच कडा मौद्रिक नीतिको पक्षमा मत विभाजित देखिएको थियो। सीएमई फेडवाचका अनुसार यस वर्ष फेडले ब्याजदर बढाउने सम्भावना करिब ८७ प्रतिशत पुगेको छ।
यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य १.१ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.८८ अमेरिकी डलर पुगेको छ। अघिल्लो दिन तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दै दुई सातायताकै उच्च स्तरमा पुगेको थियो।
तेलको मूल्यवृद्धिका कारण जापानी येनमाथिको दबाब पनि बढ्दै गएको छ। येन अमेरिकी डलरको तुलनामा कमजोर बन्दै १६२.७१ सम्म पुगेको थियो, जुन करिब ४० वर्षयताकै न्यून स्तर नजिक हो।
विश्लेषकहरूका अनुसार गत साता देखिएको येनको आकस्मिक सुधार जापानी सरकारले गोप्य रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेको परिणाम हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि महिनाको अन्त्यमा जापानको वित्त मन्त्रालयले हस्तक्षेपसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेपछि मात्र हुने अपेक्षा गरिएको छ।

















