विश्वकप फुटबल : ङ्ग्ल्यान्डको शानदार पुनरागमन, नर्वेलाई हराउँदै सेमिफाइनलमा प्रवेश
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / इङ्ग्ल्यान्ड जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मायामीमा शनिवार भएको रोमाञ्चक क्वाटर फाइनल खेलमा इङ्ग्ल्यान्डले नर्वेमाथि २–१ को सङ्घर्षपूर्ण जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो।
खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा जुड बेलिङ्घमले निर्णायक गोल गर्दै इङ्ग्ल्यान्डलाई ऐतिहासिक जित दिलाए।
खेलको ३६औँ मिनेटमा आन्द्रियास स्केल्डेरुपले आकर्षक गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको नर्वेले इर्लिङ हालान्डको नेतृत्वमा इङ्ग्ल्यान्डको रक्षापंक्तिमा लगातार दबाब सिर्जना गरेको थियो।
पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्घमले उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।

दोस्रो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। नर्वेले एकपटक फेरि जाल चुमाएको बल भिडियो सहायक रेफ्री भार को निर्णयपछि फाउल ठहरिँदै रद्द गरिएको थियो।
इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पनि हालान्डको शक्तिशाली प्रहार बचाउँदै टोलीलाई खेलमा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।

अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिङ्घमले रिबाउन्ड बललाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे। त्यसपछि नर्वेले बराबरी गोलका लागि अन्तिमसम्म प्रयास गरे पनि इङ्ग्ल्यान्डको अनुशासित रक्षापंक्तिलाई तोड्न सकेन ।
अब इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, पहिलो पटक विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको नर्वेको उत्कृष्ट यात्राको अन्त्य भएको छ।
कप्तान मार्टिन ओडेगार्ड र स्टार फरवार्ड इर्लिङ हालान्डले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई सेमिफाइनल पुर्याउन सफल भएनन्।
तस्विर सौजन्य : फिफा

















