अमेरिकाबाट भारत पठाउन लागिएको १.५ मिलियन डलरभन्दा बढीको कोकिन जफत
मियामी, फ्लोरिडा / यु.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) को मियामी फिल्ड अपरेसन अधिकारीहरूले जुन १७ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक एयर कार्गो गोदामबाट २२ किलोग्राम कोकिन हाइड्रोक्लोराइड बोकेको एउटा ठूलो ढुवानी रोकेका छन्।
‘अपरेशन स्ट्राइकर शिल्ड’ अन्तर्गत काम गरिरहेका सीबीपी अधिकारीहरूले “संगीत उपकरण” भनी घोषणा गरिएको एउटा पार्सलको निरीक्षण गर्दा त्यस भित्र कोकिन फेला परेको जनाइएको छ ।
उक्त पार्सल डोमिनिकन गणतन्त्रको सान्तो डोमिन्गोबाट भारतको दिल्ली तर्फ पठाइँदै थियो।
‘अपरेशन स्ट्राइकर शिल्ड’ ले फिफा विश्वकप २०२६ को समयमा हुन सक्ने सम्भावित लागु औषध तस्करीको जोखिम बोकेका ठुला ढुवानीहरूलाई लक्षित गर्दछ।
निरीक्षणका क्रममा सीबीपी अधिकारीहरूले चार वटा स्पिकर र दुईवटा एम्प्लीफायर भित्र लुकाएर राखिएको सेतो धुलो पदार्थका आठ वटा पाउच र चार वटा इँटा जस्तो बण्डल फेला पारेका थिए।
अधिकारीहरूले उक्त धुलो पदार्थको फिल्ड-टेस्ट गर्दा कोकिन हाइड्रोक्लोराइड भएको पुष्टि गरे।
‘उक्त कोकिनको कुल तौल २२.३५ किलोग्राम (४९ पाउन्ड, चार औंस) थियो। यसको बजार मूल्य लगभग $१.५ मिलियन (१५ लाख डलर) रहेको छ।’ सीबीपीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
“यो ठूलो मात्राको जफतले हाम्रो सिमाना सुरक्षित गर्ने र खतरनाक लागु औषधहरूलाई यहाँ र विदेशका समुदायहरूमा पुग्नबाट रोक्ने सीबीपीको अटल प्रतिबद्धतालाई जोड दिन्छ,” सीबीपी मियामी र टम्पा फिल्ड अफिसका फिल्ड अपरेसन निर्देशक ड्यानियल अलोन्सोले भने, “अपरेशन स्ट्राइकर शिल्ड, हाम्रा अधिकारीहरूको सतर्कता र विशेषज्ञतासँग मिलेर, वैध व्यापार मार्गहरूको दुरुपयोग गर्न खोज्ने अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूलाई प्रभावकारी रूपमा असफल बनाइरहेको छ। हामी यी अवैध ढुवानीहरूलाई रोक्न सूचना, उन्नत लक्ष्यीकरण र अधिकारीहरूको अन्तर्ज्ञानको प्रयोग जारी राख्नेछौँ।”
सीबीपीले उक्त कोकिन जफत गरि ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ का विशेष एजेन्टहरूद्वारा अनुसन्धान भइरहेको जनाएको छ ।

















