अमेरिकी प्रतिनिधिसभाबाट स्थायी डेलाइट सेभिङ टाइमसम्बन्धी विधेयक पारित, अब सिनेटमा छलफल हुने
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी प्रतिनिधिसभाले मंगलवार द्विदलीय समर्थनसहित ‘सनसाइन प्रोटेक्सन ऐन २०२५’ पारित गरेको छ।
यस विधेयकले वर्षमा दुई पटक घडी अगाडि–पछाडि सार्ने प्रचलन अन्त्य गर्दै ‘डेलाइट सेभिङ टाइम’लाई देशभर स्थायी बनाउने प्रस्ताव गरेको छ। साथै, प्रत्येक राज्यलाई चाहेको अवस्थामा यस व्यवस्थाबाट बाहिर रहने विकल्प पनि प्रदान गरिएको छ।
अब यो विधेयक अनुमोदनका लागि सिनेटमा जानेछ। सन् २०२२ मा पनि सिनेटले यस्तै प्रकृतिको विधेयक पारित गरेको थियो। तर, त्यस बेला प्रतिनिधिसभामा मतदानका लागि पेस नगरिएकाले उक्त प्रस्ताव कानुन बन्न सकेको थिएन। यस पटकको विधेयकले अन्तिम स्वीकृति पाउने वा नपाउने भन्ने विषय भने अझै स्पष्ट भएको छैन।
‘डेलाइट सेभिङ टाइम’ भनेको के हो ?
‘डेलाइट सेभिङ टाइम’ भनेको प्रत्येक वर्ष मार्च महिनाको दोस्रो आइतवार बिहान २ बजे घडीलाई एक घण्टा अगाडि सार्ने व्यवस्था हो। यसको उद्देश्य गर्मीयाममा दिनको उज्यालो समय बढी उपयोग गर्नु तथा ऊर्जा खपत घटाउनु हो।
यो व्यवस्था सन् १९१८ मा लागू भएको स्ट्यान्डर्ड टाइम ऐन पछि सुरु भएको हो। हाल अमेरिकामा सन् २००७ देखि लागू ऊर्जा नीति ऐन २००५ अनुसार मार्चको दोस्रो आइतवार डेलाइट सेभिङ टाइम सुरु हुन्छ भने नोभेम्बरको पहिलो आइतवार घडीलाई एक घण्टा पछाडि सारेर पुनः मानक समय ‘स्ट्यान्डर्ड टाइम’ लागू गरिन्छ।
स्थायी भए के परिवर्तन हुन्छ ?
यदि ‘डेलाइट सेभिङ टाइम’ स्थायी रूपमा लागू भयो भने प्रत्येक वर्ष वसन्त र शरद ऋतुमा घडी अगाडि–पछाडि सार्नुपर्ने व्यवस्था समाप्त हुनेछ।
गर्मीयाममा सूर्योदयको समयमा खासै परिवर्तन नआए पनि जाडो याममा सूर्य एक घण्टा ढिलो उदाउनेछ। अमेरिकाका केही स्थानमा जाडो महिनामा बिहान करिब ९ बजेसम्म अन्धकार रहन सक्ने अनुमान गरिएको छ।
अमेरिकाले सन् १९७४ मा ऊर्जा बचत गर्ने उद्देश्यले ‘डेलाइट सेभिङ टाइम’लाई स्थायी रूपमा लागू गरेको थियो। विद्यालय जाने बालबालिकाले अन्धकारमै यात्रा गर्नुपर्ने अवस्थाको व्यापक आलोचना भएपछि सोही वर्ष उक्त व्यवस्था फिर्ता लिइएको थियो।
कुन–कुन राज्यमा ‘डेलाइट सेभिङ टाइम’ लागू हुँदैन ?
हाल एरिजोना ‘नाभाजो राष्ट्र बाहेक’ र हवाई राज्यमा ‘डेलाइट सेभिङ टाइम’ लागू हुँदैन। साथै, अमेरिकन सामोआ, गुआम, उत्तरी मारियाना टापुहरू, प्युर्टो रिको र अमेरिकी भर्जिन टापुहरू मा पनि यो व्यवस्था लागू गरिएको छैन।
अन्य देशहरूको अवस्था
‘डेलाइट सेभिङ टाइम’ उत्तर अमेरिका, बेलायत तथा युरोपका केही देशमा प्रयोग भए पनि विश्वका सबै देशले यो व्यवस्था अपनाएका छैनन्। मेक्सिकोले सन् २०२२ मा देशका अधिकांश भागमा ‘डेलाइट सेभिङ टाइम’ अन्त्य गर्ने निर्णय गरेको थियो।
स्वास्थ्यमा पर्ने प्रभाव
विशेषज्ञहरूका अनुसार ‘डेलाइट सेभिङ टाइम’का कारण निद्राको तालिकामा हुने परिवर्तनले स्वास्थ्यमा असर पार्न सक्छ।
निद्रामा हुने सानो परिवर्तनले पनि तनाव बढाउने हर्मोनको मात्रा वृद्धि गर्न सक्ने विशेषज्ञहरूले बताएका छन् । यसले विशेष गरी महिलाहरू र वृद्ध वृद्धामा समय परिवर्तन भएको पहिलो दुई दिनभित्र हृदयाघात र स्ट्रोकको जोखिम बढाउन सक्ने जनाइएको छ ।
विशेषज्ञहरूका अनुसार यस्तो असर कम गर्न सामान्यभन्दा १५ देखि २० मिनेट अगाडि सुत्ने बानी बसाल्न, नियमित निद्राको समय कायम राख्न तथा मदिरा सेवनबाट टाढा रहन सुझाव दिएका छन्।

















