अमेरिकी नागरिक नभई भोट हाल्ने व्यक्ति न्यु जर्सीमा पक्राउ
वासिङ्टन / अमेरिकाको नागरिकता नलिँदै संघीय निर्वाचनमा मतदान गरेको आरोपमा स्लोभाकियाका नागरिक मारियान चारितुन न्युजर्सीमा पक्राउ परेका छन्।
यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) द्वारा बिहिवार जारी विज्ञप्ती अनुसार ती व्यक्तिले अवैध रुपमा मतदाता नामावालीमा नाम दर्ता गराइ सन् २०२२ को निर्वाचनमा मतदान गरेका थिए ।
यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले ती व्यक्तिलाई पक्राउ गरेको हो । होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन (एचइसआई) को अनुसन्धान पछि ती व्यक्तिले अवैध रुपमा मतदान गरेको पत्ता लागेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा अनुसार पक्राउ परेका व्यक्ति सँग अमेरिकी ग्रिनकार्ड मात्र छ ।
जुलाई १ मा, संघीय अनुसन्धान ब्युरो (एफबीआइ ) र यू.एस. सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआइएस ) को सहयोगमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
न्यु जर्सी जिल्लाका लागि अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार, चारितुनले आफू संयुक्त राज्य अमेरिकाको नागरिक भएको झुटा घोषणा गर्दै न्यु जर्सीमा मतदाता नामावलीमा नाम दर्ता गराएका थिए र त्यसपछि २०२२ को आम निर्वाचनमा मतदान गरेका थिए ।
जुन निर्वाचन अमेरिकी प्रतिनिधि सभाको थियो।
निर्वाचन पछि मात्र उनले अमेरिकी नागरिकताका लागि आवेदन दिएका थिए ।
यूएससीआइएसमा कागजातहरू पेश गर्दा आफूले कहिल्यै मतदाता नामावलीमा नाम दर्ता नगरेको वा कुनै पनि संघीय, राज्य वा स्थानीय निर्वाचनमा मतदान नगरेको दाबी गरेका थिए।
चारितुनले अहिले संघीय निर्वाचनमा अवैध रूपमा मतदान गरेको र अमेरिकी नागरिकताका लागि आवेदन दिँदा झुटा विवरण पेश गरेको आरोपको सामना गरिरहेका छन्।
“स्लोभाकियाका यी विदेशी नागरिकले अमेरिकी निर्वाचनमा अवैध रूपमा मतदान गरे, र पछि नागरिकताका लागि आवेदन दिँदा यसबारे झुटो बोले,” कार्यवाहक सहायक सचिव लरेन बिसले भनिन्, “उनले अहिले संघीय निर्वाचनमा अवैध रूपमा मतदान गरेको र झुटा बयान दिएकोमा संघीय आरोपहरूको सामना गरिरहेका छन्।”
कार्यवाहक सहायक सचिव बिसले अमेरिकी निर्वाचनमा मतदान गर्ने विदेशी नागरिकहरूलाई देश निकाला सम्मको सामाना गर्नुपर्ने बताइन ।
“हाम्रो सन्देश स्पष्ट छ: हामी तपाईंहरूलाई फेला पार्नेछौँ, पक्राउ गर्नेछौँ, र तपाईंहरूले आपराधिक आरोप र देश निकाला सहितका परिणामहरूको सामना गर्नुपर्नेछ। केवल अमेरिकीहरूले मात्र अमेरिकी नेताहरू चयन गर्नुपर्छ।”

















