पेन्सिलभेनियामा ‘स्किल गेम’ मेसिनहरू अवैध घोषित: ग्यास स्टेशन र ग्रोसरी पसलहरूलाई धक्का
ह्यारिसबर्ग, पेन्सिलभेनिया / पेन्सिलभेनिया राज्यको सर्वोच्च अदालतले ‘स्किल गेम’ लाई अवैध भएको फैसला गरेको छ । सर्वोच्चको यो निर्णयले ग्यास स्टेशन, ग्रोसरी स्टोर, रेस्टुरेन्ट र बारहरूमा राखिने स्किल गेम सञ्चालकलाई ठूलो धक्का लाग्ने छ ।
अदालतले यस्ता ठाउँमा राखिएका स्किल गेम मेसिनहरूलाई पूर्ण रूपमा गैरकानुनी ठहर गरेको हो।
अदालतले यी मेसिनहरू वास्तवमा जुवा खेल्ने उपकरण नै भएको र यिनीहरू विद्यमान जुवा सम्बन्धी कडा कानुनको दायराभित्र पर्ने फैसला सुनाएको हो ।
पेन्सिलभेनियाको सर्वोच्च अदालतले दुई फरक पक्षबाट वर्षौँ अघि दायर गरिएको दुई मुद्दाको जुन १५ तारिख सोमबार फैसला सुनाउँदै यस्तो निर्णय गरेको हो ।
व्यवसायी र राज्य दुवै तर्फबाट स्किल गेम सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेका थिए ।
राज्यको तर्फबाट सन् २०२२ मा डाउपीन काउन्टीको एउटा रेस्टुरेन्टबाट प्रहरीले तीनवटा स्किल गेम मेसिन र केही नगद जफत गरेको थियो। त्यस पछि पेन्सिल्भेनिया राज्य सरकार र र महान्यायाधिवक्ताको कार्यालयले ती मेसिनहरू जुवा खेल्ने अवैध उपकरण भएको भन्दै जफत गर्न पाउनुपर्ने दाबीसहित मुद्दा अघि बढाएका थिए।
यस्तै अर्को मुद्दा कम्पनीको तर्फबाट परेको थियो ।
सन् २०१७ र २०१८ मा फिलाडेल्फिया प्रहरीले आफ्ना मेसिनहरू समात्न थालेपछि, मेसिन उत्पादक कम्पनी ‘पेस-ओ-म्याटिक’ आफैँले राज्य सरकार र फिलाडेल्फिया सिटी विरुद्ध आफूहरूको मेसिन कानुनी भएको घोषणा गरिपाऊँ भन्दै मुद्दा हालेको थियो ।
तल्लो अदालतहरूले स्किल गेमको पक्षमा फैसला गरेपछि, राज्य सरकारले यो विवादलाई सन् २०२४ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
पेन्सिलभेनिया सर्वोच्च अदालत प्रधानन्यायाधीश डेब्रा टोड नेतृत्वको पूर्ण इजलासको बहुमतले यो फैसलाको गरेको हो ।
कुल ७ जना न्यायाधीशमध्ये ६ जना यो फैसला प्रक्रियामा सहभागी थिए, जसमा ५ जना न्यायाधीशहरू स्किल गेम मेसिनहरूलाई अवैध ठहर गर्ने र जफत गर्ने अन्तिम निष्कर्षमा एकमत भएका थिए ।
पेन्सिल्भेनिया राज्यभर ७० हजार भन्दा धेरै स्किल गेम मेशिनहरू सञ्चालनमा हुँदै आएको अनुमान गरिएको छ । त्यस मध्ये ग्यास स्टेशन, ग्रोसरी र रेष्टुरेन्टहरुमा पनि बिना कुनै अतिरिक्त लाइसेन्स विना सञ्चालन हुँदै आएको बताइएको छ । साथै त्यस्ता मेशिनबाट हुने कारोबार करको दायरामा नआउने गरेको पनि सरकारी दाबी छ ।
अब त्यस्ता मेशिनहरूको व्यवस्थाका लागि व्यवसायीहरूलाई एक सय २० दिनको समय दिइएको छ ।
धेरै साना पसलहरूले यी मेसिनहरूबाट आउने कमिसन वा भाडा मार्फत अतिरिक्त आम्दानी गरिरहेका थिए, जसमा अब रोक लाग्नेछ।
मेसिन बनाउने कम्पनी ‘पेस-ओ-म्याटिक’ ले यो निर्णयबाट दश हजार भन्दा बढी साना व्यवसायहरू प्रत्यक्ष पीडित हुने बताएको छ।
चार महिना पछि के हुन्छ ?
अब यो अवधिमा संसदले नयाँ कानुन नबनाएमा एक सय २० दिन पछि व्यवसायीले यस्ता मेशिन आफ्नो स्टोरबाट हटाउनै पर्छ ।
सर्वोच्च अदालतको फैसला अनुसार अहिलेका लागि यी मेसिनहरू पूर्ण रूपमा अवैध स्लट मेसिन हुन्।
अदालतले एक सय दिनको समयसीमा केवल सांसदहरूलाई नयाँ कानुन बनाउने बाटो खोल्नका लागि मात्र दिएको हो।
चार महिना भित्रमा नयाँ कानुन बनेन र व्यवसायीले मेशिन आफ्नो स्टोरबाट हटाएनन् भने प्रहरीले जुवाको अवैध सामान सरह मेसिन र पैसा जफत गर्नेछ र सञ्चालकलाई फौजदारी अपराध अन्तर्गत कारबाही गर्ने बाटो खुल्ने छ ।
अहिलेको अवस्थामा व्यवसायीले लाइसेन्स लिएर पनि यस्तो मेशिन राख्न पाउँदैनन् । किनकि यी मेसिनका लागि कुनै लाइसेन्स नै उपलब्ध छैन।
तर संसदले एक सय २० दिनभित्र नयाँ विधेयक पास गरेर ग्यास स्टेशन वा पसलहरूका लागि छुट्टै ‘स्किल गेम लाइसेन्स’ को व्यवस्था गर्न सक्छन्।
यस अगाडी गभर्नर जस सापिरोले बजेट भाषणमा स्किल गेम मेशिनबाट हुने आम्दानीमा ५२ प्रतिशत सम्म कर लगाउने प्रस्ताव गरेका थिए।

















