टेनेसीमा ड्राइभिङ लाइसेन्सका लागि नागरिकता प्रमाण र अङ्ग्रेजी दक्षता अनिवार्य
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको टेनेसी राज्यमा आगामी जनवरीदेखि लागू हुने नयाँ कानुनले आप्रवासनसम्बन्धी बहसलाई पुनः तातेको छ।
रिपब्लिकन सांसदहरूले पारित गरेको उक्त कानुनअनुसार अब ड्राइभिङ लाइसेन्स प्राप्त गर्न वा सवारीसाधन दर्ता गर्न अमेरिकी नागरिकता वा कानुनी बसोबासको प्रमाण पेस गर्नुपर्ने जनाइएको छ ।
नयाँ व्यवस्था अनुसार ड्राइभिङ लाइसेन्सका आवेदकहरूको अङ्ग्रेजी भाषाको दक्षता परीक्षणसमेत अनिवार्य बनाएको छ।
कानुनका समर्थकहरूले यसले सडक सुरक्षा सुधार गर्ने र आप्रवासनसम्बन्धी नियम कार्यान्वयनलाई बलियो बनाउने दाबी गरेका छन्। त्यस्तै केही आलोचकहरूले भने यसले कानुनी आप्रवासी तथा अन्तर्राष्ट्रिय कामदारहरूका लागि अनावश्यक अवरोध सिर्जना गर्न सक्ने बताएका छन्।
नयाँ नियमअनुसार सुरुवाती लिखित परीक्षा अङ्ग्रेजीबाहेक अन्य भाषामा दिन सकिने छ। त्यसरी परीक्षा उत्तीर्ण गर्ने आवेदकलाई सीमित अवधिको लाइसेन्स प्रदान गरिने छ। त्यस्तै, एक वर्षपछि उनीहरूले पुनः उपस्थित भई अङ्ग्रेजी भाषामै लिखित परीक्षा पास गर्नु पर्ने जनाइएको छ ।
कानुनका समर्थकहरू यसलाई सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणका लागि आवश्यक कदम भएको बताइरहेका छन् । यता, विपक्षीहरूले भने कानुनी आप्रवासी, अन्तर्राष्ट्रिय कामदार र विदेशी लगानीकर्ताहरूलाई निरुत्साहित गर्ने तर्क गरिरहेका छन्।
आगामी जनवरीदेखि लागू हुने यो कानुनले टेनेसीमा आप्रवासन र आर्थिक नीतिबारेको बहसलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।

















