वोस्टनमा पुनः सप्ताह हुने
कृष्णराज खनाल
अमेरिका / अमेरिकाको वोस्टनमा अगष्ट १६ देखि २३ तारिख सप्ताहव्यापी ज्ञान महायज्ञ हुने भएको छ ।
यसका लागि तयारी भइरहेको आयोजक पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंगल्याण्ड (प्याव्फोन) ले जनाएको छ ।
सो ज्ञान महायज्ञमा मुख्य वाचकका रुपमा वाचन प्रवीण पं दीनवन्धु पोखरेल सहभागी हुने छन् । प्याव्फोनले सो ज्ञान महायज्ञमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई आव्हान गरेको छ ।
पं दीनवन्धु पोखरलले वोस्टनमा झण्डै १० वर्ष अगाडि प्याव्फोनद्धारा आयोजित सप्ताहमा प्रमुख वाचकको भूमिका निर्वाह गर्दा उधारो र नगद समेत गरी करिब १७ लाख डलर जम्मा भएको थियो र त्यसमध्ये करिब छ लाख जति अझै उठाउन बाँकी रहेको जनाइएको छ ।
त्यसपछि प्याव्फोनले आफ्नै नाममा एउटा चर्च खरिद गरेर पशुपतिनाथ र बुद्धको स्तूपासहितको मन्दिर निर्माण गरेको छ ।
हामीलाई अझै छ लाख जति ऋणको बोझ छ, त्यो रकम उठाउनु नै यो सप्ताह ज्ञानमहायज्ञको मुख्य उद्धेश्य हो प्याव्फोनका अध्यक्ष ध्रुव घिमिरेले भने । उनले अन्तर्राष्ट्रिय परिस्थितिले पहिले जस्तो अधिक मानिसमा उत्साह नभए पनि मन्दिर र स्तूपाको लागि स्थानीय मानिसमा गर्नुपर्छ भन्ने भाव जागृत भएको बताए ।
सो ज्ञान महायज्ञ आयोजनाका लागि प्याव्फोन कार्यसमिति र प्याव्फोन ट्रस्टीको संयुक्त बैठकले ग्रेटर वोस्टन नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष मिलन कार्कीको संयोजकत्वमा १३ जनाको तयारी समिति गठन गरेको छ र सो समितिले विभिन्न उपसमितिमार्फत काम गरिरहेको जनाइएको छ ।

















