नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन : डामिएकाहरूले फेरि मुन्टो उठाउलान् ?
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक शक्ति दाबी गर्दै आएको नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका फेरि अहिले चलमलाएको छ ।
नेपाली कांग्रेसका संस्थापक सभापति विश्वेश्वर प्रसाद कोइराला (वीपी) ले सत्तरीको दशकमा भारतमा स्थापना गरेको संस्था हो यो । एक दशक अगाडि सम्म पनि यसको चाम लोभलाग्दो थियो, अहिले दयनीय छ अवस्था । नाम भन्दा बदनाम धेरै ।
त्यसो त माउ पार्टी नै अहिले इतिहासको अत्यन्त खराब अवस्थामा छ । संसदीय चुनावमा नमिठो हार पछि पनि पार्टी बौरिन सकेको छैन । दिन दिनै फुटको डिलमा रहेका समाचार आइरहेका छन्।
प्रवासमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान् नेपालीहरूलाई एकीकृत गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा वैदेशिक सहयोग र जनमत जुटाउनु यसको प्रारम्भिक लक्ष्य थियो ।
तर समय यति निस्ठुरी भइदियो कि यो संस्था ‘नोट र भोट’ मा रूपान्तरण भयो ।
प्रजातान्त्रिक संस्थाको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले पछिल्लो एक दशक ‘प्रजातन्त्र’ कै खिल्ली उडायो ।
सन् २०१४ मा टेक्सस अधिवेशनमा जितेर आएका सभापति आनन्द विष्ट हुन वा त्यो चुनावमा हारेका बिष्णु सुवेदी दुवैले प्रजातान्त्रिक आचरण देखाउन सकेनन् ।
यी दुईको ‘इगो’ का कारण सल्किएको आगोले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई खरानी नै बनायो । एकले अर्कोको कट्टु तान्ने खेल खेल्दा अहिले दुवै नाङ्गै भए ।
खासमा २०१७ मा हुने पर्ने थियो नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन । सभापति विष्टले जालझेल गर्दै अधिवेशन धकेल्दै आए ।
नेपालको संसदीय चुनावमा विष्टले टिकट पाउँदैन थिए भने अझै उनी नै यो पदमा आफूलाई योग्य नै बनाउँथे होलान् ।
नेपाली राजनीतिमा आश गरेका भनिएका, नेपाली कांग्रेसको विषेश महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उप सभापति विश्व प्रकाश शर्माको ‘सिल्ली मिस्टेक’ ले विष्टले टिकट पाए र अहिले जनसम्पर्कमा नयाँ नेतृत्वको ढोका खुल्यो ।
विष्टले चुनाव जितेको भए अहिले नेपालको अण्डा अदालत धाउँदै हुन्थे । चुनाव हारे पछि न्यु योर्कका कुन गल्लीमा छन् अत्तोपत्तो छैन् ।
नेपालको संविधानमा एउटा विभेदपूर्ण व्यवस्था छ । विदेशको नागरिकता लिएको व्यक्ति त्यो नागरिकता त्यागेको क्षणभरमा शुद्ध हुन्छ । चोखिन्छ । तर ग्रीनकार्ड / पीआर लिएको व्यक्तिले ९० दिनको क्वारेनटाइन पार गर्नु पर्छ ।
विष्टले टिकट पाएका बारेमा उ बेलै उजुरी परेको थियो । टिकट पाउँदा उनले ग्रीनकार्ड त्यागेको ९० दिन भएको थियो ? र ग्रीनकार्ड त्यागेको थिए भने चुनाव पछि अमेरिका कुन स्टाटसमा आए ? आफूलाई लोकतान्त्रिक र राजनीतिज्ञ दाबी गर्नेले देखाउने पारदर्शिता हो ।
यो पारदर्शिताको कसीमा अब विष्ट कमिटीका उपसभापति धनञ्जय नरसिंह केसी आइपुगेका छन्।
कांग्रेस सभापति गगन थापाले आफ्नै काका ससुरा केसीलाई अधिवेशन गराउने जिम्मा दिएका छन्।
केसी तिनै पात्र हुन जसले एकताका नेपाली जनसम्पर्क समिति अमेरिका फुटाएका थिए । माथि पनि भने नि पछिल्लो एक दशक नेपाली जनसम्पर्क समिति अमेरिका नोट र भोटमा घुम्यो ।
कांग्रेसले आफ्नो महाधिवेशनमा जनसम्पर्क समितिबाट पनि प्रतिनिधि ल्याउने व्यवस्था गरेको छ।
विष्टले एकलौटी गरे भन्दै बिष्णु सुवेदी सहितको रोहबरमा केसीले संस्था फुटाएका थिए ।
‘आनन्दे त अब सभापति रहिनस्।’ भर्चुअल सार्वजनिक कार्यक्रममा आनन्द विष्टको पदावधि सकिएको र अब उनलाई सभापति नमान्ने घोषणा गरेका सुवेदी पछि आफै भागबन्डाको आधारमा महाधिवेशन प्रतिनिधिमा गए पछि केसी नेतृत्वको समिति टुहुरो बनेको थियो ।
केसी नेतृत्वको समितिले शङ्कास्पद र किस्ताबन्दीमा अधिवेशनका तिथि मिति घोषणा गरिँदै आएको छ । अगस्त १४-१६ सम्म डिसी मेट्रो क्षेत्रमा अधिवेशन गर्ने भनिएको छ। अधिवेशनको हुन ठ्याक्कै एक महिना बाँकी रहँदा सम्म पनि डिसी मेट्रो क्षेत्रको कुन ठाउँमा अधिवेशन गर्ने र त्यसमा सहभागि हुने प्रतिनिधिका बारेमा बताइएको छैन ।
नेपालमा पञ्चायतकालमा भूमिगत रुपमा संगठन चलाए जस्तै, कामकारबाही शङ्कास्पद रुपमा गरिँदै आइएको छ । त्यसो त स्वयम संयोजक केसी आफै सञ्चारकर्मी सँग लुकामारीको अवस्थामा छन्।
यत्रो अधिवेशनका बारेमा नत उनले पत्रकार सम्मेलन राखे नत पत्रकारसँग संवाद गर्न नै राजी भए ।
यस्तो अवस्थामा अधिवेशन चैँ हुन्छ ? अनि कमदकदाचित भयो भने नेतृत्वमा को आउलान् ? यो अब चासोको विषय बन्न थालेको छ ।
केसी आफैले आफ्नो जिम्मेवारी चुनाव गराउने मात्र भएको बताएका छन् । १२ वर्ष अगाडि टेक्ससमा चुनाव हारेका बिष्णु सुवेदीले आफ्नो रहर नमरेको बताउने गरेका छन् ।
विश्व संजाल नै चलाएका सुवेदी नेपाली कांग्रेसले बनाउने जनसम्पर्क समिति अन्तर्राष्ट्रिय कमिटीका लागि माना पाथीमा रहेको उनी निकट बत्ताउँछन् ।
अन्तर्राष्ट्रिय समितिको ढोका नखुले मात्र अमेरिका फर्कने सुवेदीको रणनीति रहेको बताइन्छ । यस अगाडी शेखर कोइराला निकट मानिने सुवेदी कांग्रेसको विषेश महाधिवेशनमा काठमाडौँ नै गएर गगन थापाको पक्षमा देखिका थिए ।
विष्ट कमिटीका उपसभापति सिपी पौडेल, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भरत अर्यालले नेपाली जनसम्पर्क समिति अमेरिकालाई अब आफूले नेतृत्व दिने घोषणा गरि सकेका छन्।
सबै भन्दा आश्चर्य, १२ वर्ष सम्म नेपाली जनसम्पर्क समितिको पदाधिकारी नै रहेर बदनामी कमाएकाहरूले पनि आफूलाई दाबेदारको रुपमा उभ्याएका छन् ।
नक्कली लेटर प्याड सिफारिस कर्ता देखि भूकम्प पीडितका लागि उठाएको चन्दा रकम हिनामिनाको आरोपी तथा एनआरएनए होस वा संसदीय चुनावमा पार्टी उम्मेदवार विरुद्ध भोट माग्नेहरू आफूलाई भावी नेतृत्वको दाबेदारमा उभ्याएका छन्।
नेपाली जनसम्पर्क समितिको १२ वर्षे कार्यकालमा सबै भन्दा बदनामीपूर्ण घटना भनेको २०१५ सालमा नेपालमा गएको महाभूकम्प पीडितका लागि संकलन गरिएको रकम हिनामिना प्रकरण हो ।
यो प्रकरणमा तत्कालिन सभापति आनन्द विष्ट र महामन्त्री मुनीन्द्र नेम्वाङ्गले एक आपसमा रकम हिनामिनाको आरोप लगाउँदै एकले अर्कोलाई संस्थाबाट निष्कासन गरेका थिए ।
तिनै नेम्वाङले आफूलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिको उम्मेदवार भन्न थालेका छन्। नेम्वाङले आफूलाई पार्टी उपसभापति विश्व प्रकाश शर्माको धाप रहेको बनाउने गरेका छन् ।
यस्तै १२ वर्ष सम्म आनन्द विष्टको एक पछि अर्को काण्डमा हो मा हैँसे गर्दै आएका गौतम दाहालले पनि आफूलाई अबको नेतृत्वमा अगाडि सारेका छन्। विष्टका अति विश्वास पात्र दाहाल यस अगाडि कमिटीमा प्रवक्ता थिए ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा सम्म शेरबहादुर देउवालाई सत्तो सराप गर्ने दाहाल पछि विष्टले कार्यवाहक दिने प्रलोभनमा देउवा क्याम्प लागेका थिए ।
तर पछि एनआरएनएमा देउवाले नै टिकट दिएका कांग्रेस निकट उम्मेदवारको विरुद्धमा रहेका अर्का उम्मेदवारको प्रस्तावक / समर्थ बसेका दाहाल गत संसदीय चुनावमा कांग्रेस हराउन सक्रिय थिए ।
नेपालको पछिल्लो संसदीय निर्वाचनमा सबै भन्दा कम मतान्तरले नेपाली कांग्रेसले चुनाव हारेको दाहालकै गृह जिल्ला ओखलढुङ्गा हो ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र पाँच भोटले हराएका थिए ।
पोखरेल गौतम दाहालका मामा हुन । चुनावमा मामालाई भोट मागेका दाहालले नजिता सार्वजनिक भए पछि सामाजिक सञ्जालमा उत्सव मनाएका थिए ।
अहिले गौतम दाहालले आफूलाई पार्टी सभापति गगन थापा निकट भन्दै हिँडेका छन्।
तर १२ वर्ष सम्म नेपाली जनसम्पर्क समिति अमेरिकालाई बदनाम गराउनेहरू अब उम्मेदवार नै बन्न नहुने विष्ट कमिटीका उपसभापति सिपी पौडेलको भनाइ छ ।
‘पुरानो नेतृत्व र अधिवेशन आयोजना लागि गठित केसी नेतृत्वको समितिका सदस्यले अब दाबी गर्न हुन्न भन्ने मेरो जोड हो ।’ पौडेलले भने, ‘यदि नयाँ कोही आउँछ भने म सहयोग गर्न तयार छु, नत्र उपसभापतिको हिसाबले म भावी सभापतिका लागि अर्ग्यानिक उम्मेदवार हुँ ।’
सभापतिका अर्का दाबेदार भरत अर्याल अब गुट भन्दा माथिबाट संगठन चलाउनु पर्ने बताए ।
‘म कुनै गुटको होइन । कांग्रेस हु, म त्यसरी नै चुनावमा जान्छु ।’ उनले भने ।
प्रतीक्षा अब नेपाली जनसम्पर्क समिति अमेरिकाको चुनावमा नेपाली कांग्रेसका सभापति सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले गुट विहीन कांग्रेस चलाउँछन् वा पार्टी विरुद्ध भोट माग्ने तथा भूकम्प पीडितका लागि उठाइएको रकम हिनामिनामा बदनामी कमाएकाहरूलाई बोक्छन्, त्यो समयले बताउने छ ।

















