पेन्सिल्भेनियामा ‘नेपाल डे परेड २०२६’ : व्यावसायिक प्रवर्द्धन र प्रतिभा प्रदर्शनका लागि दर्ता खुल्यो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरको आयोजनामा यही मे ३१ आइतबार ‘नेपाल डे परेड २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित सिटी आइल्याण्डमा बिहान ११:०० बजेदेखि परेड सुरु हुनेछ।
नेपाली कला, संस्कृति र पहिचानलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
पेन्सिल्भेनियामा नेपाल डे परेड हुन लागेको यो पहिलो अवसर हो ।
एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष नविन लामाका अनुसार सिटी आइल्याण्डबाट शुरु हुने परेड मार्केट स्ट्रिटबाट गभर्नर निवास, क्यापिटल हिल हुदै पुन सिटी आइल्याण्डमा पुगेर कार्यक्रममा परिणत हुने छ ।
‘परेडमा नेपाली जात जाती, भेषभूषा, संस्कृति झल्काउने झाँकी रहने छ। त्यस पछि सांस्कृतिक र सांगितिक कार्यक्रम हुने छन् ।’ समाज टाइम्स सँग लामाले भने ।
प्रतिभा र व्यवसाय प्रवर्द्धनका लागि आवेदन खुला
कार्यक्रमलाई थप आकर्षक र समुदायमुखी बनाउन आयोजकले स्थानीय व्यवसायी, कलाकार तथा प्रतिभाहरूलाई सहभागिताका लागि खुला आह्वान गरेका छन्।
कार्यक्रममा आफ्नो व्यवसायको प्रवर्द्धन गर्न, व्यापारिक प्रदर्शनी कक्ष (बूथ) राख्न वा मञ्चमा आफ्नो कला र प्रतिभा प्रस्तुत गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि आवेदन खुला गरिएको छ।
नेपाल परेड डे इभेन्ट म्यानेजर अभिषेक थापाका अनुसार इच्छुक सहभागीहरूले अनलाइन फारम (गुगल फारम) भरेर आफ्नो नाम र विवरण दर्ता गराउन सक्नेछन्।
“हामी हाम्रो यस भव्य मञ्चलाई समुदायका सम्पूर्ण प्रतिभाहरूसँग साझा गर्न र उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छौँ।” थापाले भने, “यदि यहाँहरूमध्ये कसैले आफूलाई वा आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न, कार्यक्रममा प्रदर्शनी कक्ष राख्न, अथवा स्टेजमा आफ्नो प्रस्तुति दिन चाहनुहुन्छ भने कृपया नहिचकिचाई अनलाइन गुगल फारम भरिदिनुहोला।”
गुगल फारम भर्न यहाँ क्लिक गर्नु होला ।
आर्थिक सहयोग र दानको अपिल
यस वृहत सामुदायिक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक सहयोगको समेत आवश्यकता रहने भएकाले आयोजकले इच्छुक सहयोगी हातहरूलाई सहयोगका लागि अपिल गरेका छन्।
डिजिटल माध्यमबाट सुरक्षित रूपमा सहयोग वा दान गर्न चाहनेहरूका लागि संस्थाको आधिकारिक जिएल (Zelle) इमेल ठेगाना nrnanccusapachapter@gmail.com उपलब्ध गराइएको छ।
इभेन्ट म्यानेजर थापाले समुदायबाट प्राप्त निरन्तरको माया, सहयोग र समर्थनका लागि हृदयदेखि आभार प्रकट गर्दै यस गौरवमय कार्यक्रममा सबैलाई उपस्थित भई नेपाली पहिचानलाई उच्च राख्न अनुरोध गरेका छन्।

















