ह्यारिसबर्गमा दुई हजारभन्दा बढीलाई एकै पटक पुराण श्रवण गराइने, गभर्नर सापिरोको पनि उपस्थिति रहने
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / चर्चित कथावाचिका देवी प्रतिभाद्वारा वाचन हुने ‘भविष्य पुराण महोत्सव २०२६’ का लागि पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित श्रीलक्ष्मी नारायण हरिहरधामलाई धमाधम सिँगारिँदै छ।
हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचआरसी) का अध्यक्ष प्रेम खनाल र प्रमुख कार्यकारी निर्देशक (सिइयो) डा. तुलाराम न्यौपाने सहितका पदाधिकारी तथा दर्जनौ स्वयंसेवकहरू मन्दिर सजिसजाउमा खटिएका छन्।

ओएचआरसीका सीईओ डा. न्यौपानेका अनुसार मन्दिरको पूर्वतर्फको पार्किङमा विशाल स्वागतद्वार तयार पारिएको छ। त्यसको अगाडि नेपाल र भुटानका ग्रामीण क्षेत्रलाई झल्काउने गरी घर बनाइएको छ।
समाज टाइम्स प्रतिनिधि मङ्गलवार मन्दिर परिसरमा पुग्दा ओएचआरसीका अध्यक्ष प्रेम खनाल आफैँ घरको पाली छाउन व्यस्त भेटिएका थिए।

सीईओ न्यौपानेका अनुसार मन्दिरको पश्चिमतर्फको पार्किङमा दुई हजारभन्दा बढीले एकै पटक पुराण श्रवण गर्न सक्ने गरी व्यवस्था गरिएको छ।
‘घामपानीबाट पूर्ण रूपमा सुरक्षित हुने गरी हामीले व्यवस्था गरेका छौँ,’ डा. न्यौपानेले भने, ‘अगाडि बस्नेहरूका लागि सुकुल/चटाई र पछाडि कुर्सीको व्यवस्था गरेका छौँ।’


न्यौपानेका अनुसार एक सातासम्म जारी रहने पुराण महोत्सवमा पेन्सिल्भेनियाका गभर्नर जस सापिरोको पनि उपस्थिति रहने कार्यक्रम छ।
‘यो हाम्रा लागि ऐतिहासिक हुनेछ,’ डा. न्यौपानेले भने, ‘उहाँले एक हप्ताभित्रमा समय मिलाएर आउने प्रतिबद्धता जनाउनुभएको छ।’
डा. न्यौपानेले एक साताको महोत्सवमा १० हजारभन्दा बढीले पुराण श्रवण गर्ने विश्वास व्यक्त गरे।
मे २२ तारिख बिहान आठ बजेदेखि मण्डप पूजा हुनेछ। १० बजेदेखि देवी प्रतिभाले वाचन सुरु गर्ने कार्यक्रम तय गरिएको छ। दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म पुराण वाचन गर्ने व्यवस्था मिलाइएको छ।
‘यो ऐतिहासिक छ। मैले आफ्नो ४०-४५ वर्षको उमेरसम्म यस्तो सुनेको थिइनँ। यो एकदमै अनौठो (युनिक) छ, त्यसैले सबै जनालाई आइदिनुहुन अनुरोध गर्दछु,’ डा. न्यौपानेले भने।




















