न्यू अमेरिकन चेम्बर अफ कमर्स पेन्सिल्भेनियामा आधिकारिक रूपमा दर्ता
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / न्यू अमेरिकन चेम्बर अफ कमर्स (एनएसीसी) ले पेन्सिल्भेनिया राज्यमा आफ्नो आधिकारिक दर्ता प्रक्रिया सम्पन्न गरेको शनिवार घोषणा गरेको छ।
संस्थाका अनुसार यो उपलब्धि विविध व्यावसायिक समुदायलाई सशक्त बनाउने, सहकार्य विस्तार गर्ने तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
संस्थामा अध्यक्ष अर्पण तिवारी, उपाध्यक्ष सुनिता श्रेष्ठ, सचिव लक्ष्मी दुलाल, कोषाध्यक्ष गोविन्द अधिकारी तथा सह–कोषाध्यक्ष देविका बस्नेत रहेका छन्।
चेम्बरको आधिकारिक कार्यालय ११९ एस्टर ड्राइभ, सुइट १०१, ह्यारिसबर्ग, पेन्सिल्भेनिया १७११२ मा रहने जनाइएको छ ।
यसै बीच एनएसीसीले आफ्नो पाँचौं नेटवर्किङ कार्यक्रम शनिवार सफलता पूर्वक आयोजना गरेको जनाएको छ।
ह्यारिसबर्गस्थित लाकी फ्राइड चिकेनमा सम्पन्न उक्त कार्यक्रममा करिब ४० जना व्यवसायीहरूको सहभागिता जनाइएको छ।
कार्यक्रममा विशेष वक्ताका रूपमा नील एच भण्डारी र डा. र्याचेल नट्सले सहभागिता जनाउँदै नेतृत्व विकास, दीर्घकालीन सोच तथा व्यावसायिक चुनौतीहरूको समाधानबारे आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
“द वेट अफ विज्डम – फ्रम द प्याक टु द पीक” शीर्षकमा आधारित उक्त सत्रले विशेषगरी आगामी पुस्तालाई लक्षित गर्दै प्रभावकारी नेतृत्व कसरी विकास गर्ने भन्ने विषयमा गहन छलफल गरेको थियो। साथै, कार्यक्रममा सहभागी व्यवसायीहरूबाट उनीहरूले भोगिरहेका चुनौतीहरूबारे सर्वेक्षणसमेत संकलन गरिएको थियो।
संस्थाले एक वक्तव्य जारी गर्दै भनेको छ,
“यो उपलब्धि हाम्रो साझा व्यावसायिक समुदायलाई अझ सशक्त, समावेशी र एकीकृत बनाउने दिशामा महत्त्वपूर्ण कदम हो।”
न्यू अमेरिकन चेम्बर अफ कमर्सले आगामी दिनहरूमा यस्ता नेटवर्किङ कार्यक्रम, तालिम तथा विभिन्न सामुदायिक पहलहरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















