समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौँ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ठुलो मात्रामा विदेशी रकम सञ्चित हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो बर्गल्याई ऋण उपलब्ध गराउने र त्यसले केही हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्न सक्ने धारणा व्यक्त गरे । उनका अनुसार यति बेला नेपालमा करिब १७÷१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ ।
‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोही ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसैले सबैभन्दा तल्लो वर्गले पनि ऋण पाओस् भन्ने हाम्रो मनसाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता वर्गको अवस्था बुझ्न आफू केही दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे ।
यति बेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिँदै उनले सोही कारण खराब ऋण बढ्दै गएको बताए । खराब ऋण बढ्नै जानुको मुख्य कारण अझै पनि नेपालमा उद्यमशीलता बलियो गरी स्थापित नहुनुले भएको उनको भनाई छ । व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफूले गृहकार्य गरिरहेको बताएका हुन् ।