पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै
काठमाडौं । पहिला पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक संवृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रूपान्तरणमा केही योगदान पुर्याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो ।
यो समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते देखि ३० गतेसम्म चल्नेछ । विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव बारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति रहनेछ ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्न परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ ।
वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे समिटको औपचारिक समुद्घाटन हुनेछ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा समुद्घाटन हने समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा लगायत विभिन्न देशका पत्रकारहरूबाट सम्बोधन हुनेछ ।
उद्घाटन समारोह पछि ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुति तथा बहस हुनेछ । विदेशी पत्रकारसहित करिब एक सय पचास पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ ।
समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुति तथा बहस हुनेछ । उक्त दिन पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति तथा छलफल हुनेछ ।
त्यसै गरी समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङ सम्म मिडिया यात्रा हुन्छ भने चौथा दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागितामा ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारेमा बृहत् अन्तरक्रिया हुनेछ । सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरी कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ ।