‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घर टहरा तथा खेती बारी क्षति पुर्याएको छ ।
चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा यस हात्तीले प्रायः दैनिक जसो क्षति पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घर टहरा भत्काइसकेको छ ।
हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घर टहरा भत्काइसकेको छ भने खेती बारी क्षति पुर्याएको चन्द्रपुर नगरपालिका–वडा नं ३ वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए ।
उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षति गरेको छ । झयस क्षेत्रमा केही महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो ।
उनले भने, ‘पटक पटकको उपचार पछि अहिले निको भएको हुन सक्छ ।’
हात्तीको दायाँ खुट्टामा गहिरो घाउ हुँदा हिड्डुल समेत राम्रो सँग गर्न नसक्ने अवस्थामा थियो उनले भने ।राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलीले दुई पटक घाइते हात्तीको उपचार गरेपछि निको भएको हुन सक्ने उनको भनाइ छ । तर स्थानीयले भने हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गर्ने माग गर्दै आएका छन् ।