सिक्किममा ‘जार’ वल्र्ड प्रिमियर, बाघको दृश्यले दर्शकको ध्यान खिच्यो

सिक्किम । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को सिक्किममा ग्राण्ड वल्र्ड प्रिमियर सम्पन्न भएको छ ।
सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
चलचित्रको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । सात सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो ।
पारिवारिक कारणवश अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रिमियरमा सहभागी हुन सकिनन् ।
चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए ।
कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा सङ्गीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ’जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ ।
धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो, साम्तेनले भने, ’धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ ।’
अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ’जार’ एक पटक हेर्नुपर्ने चलचित्र रहेको बताए ।
मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे । चलचित्र हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए ।