नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । आज नव वर्ष अर्थात् विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदै छ ।
नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षको रुपमा मनाइन्छ ।
आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चान्द्र मानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
आज बिहानै नुहाउने, घर कोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठो मीठो खाने, साथी सङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
वैशाख १ गते नव वर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बङ्गलादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ ।