एनआरएनए अमेरिकाको दुवै समूहको साधारण सभा रोक्न आइसीसीको निर्देशन, नटेरे कारबाही गरिने चेतावनी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको दुई समूह द्वारा घोषित साधारण सभा रोक्न अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले निर्देशन दिएको छ ।
अमेरिका विकास उप्रेती र सतेन्द्र शाह नेतृत्वमा दुई समूह क्रियाशील छन् । दुवै समूहले जुलाईमा टेक्ससका दुई फरक शहरमा एकै दिन साधारण सभाको तयारी गरिरहेका छन् ।
आईसीसीका महासचिव डा. चिरञ्जीवी खड्काले दुवै समूहका अध्यक्षलाई पत्र पठाउँदै साधारण सभा रोक्न भनेका हुन् । ‘वार्षिक साधारण सभा स्थगन गरी सहमति, एकता तथा एकीकृत राष्ट्रिय समन्वय परिषद् निर्माणका लागि आवश्यक अग्रसरता बारे’ विषयको मास इमेल सबै सदस्यहरूलाई पनि पठाइएको छ ।
यसअघि दुई समूहलाई मिलाउन अनेकौँ चरणमा प्रयासहरू विफल हुँदै आएका छन् । यस पटक आइसीसीले जुलाई १३ सोमबार अपराह्न ५:०० बजेभित्र लिखित जवाफ पठाउन दुवै पक्षलाई अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ ।
यस्तै दुवै समूहलाई आ-आफ्नो साधारण सभाका सम्पूर्ण कार्यक्रम तत्काल स्थगन गर्न र जुलाई १६ मा एकता सहजीकरण समितिका संयोजक रोशन थापाको नेतृत्वमा आयोजना हुन गइरहेको ‘एकता अधिवेशन’ मा सहभागी हुन स्पष्ट निर्देशन दिएको छ ।
निर्देशनलाई उल्लङ्घन गरी समानान्तर सभाहरू सञ्चालन गरिएमा संघको विधान २००३ (२०२६ को संशोधन सहित) को दफा १७ को उपदफा १७.७ को खण्ड १७.७.२ बमोजिम कडा कानुनी कारबाही अघि बढाइनेछ ।
विधानको उक्त धाराअनुसार केन्द्रको निर्देशन पालना नगर्ने वा संघको उद्देश्यअनुरूप अघि बढ्न अस्वीकार गर्ने राष्ट्रिय समन्वय परिषद्लाई विघटन गर्ने वा त्यसको मान्यता नै फिर्ता लिने पूर्ण अधिकार आईसीसीलाई सुरक्षित रहेको भन्दै केन्द्रले अमेरिकामा रहेका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई बोधार्थ दिँदै कठोर कदमको चेतावनी दिएको छ ।
आइसीसी महासचिवको पत्रको पूर्ण पाठ
श्री विकास उप्रेतीज्यू
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, संयुक्त राज्य अमेरिका
श्री सतेन्द्र साहज्यू
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, संयुक्त राज्य अमेरिका
विषयः वार्षिक साधारण सभा स्थगन गरी सहमति, एकता तथा एकीकृत राष्ट्रिय समन्वय परिषद् निर्माणका लागि आवश्यक अग्रसरता बारे ।
महोदय,
उपरोक्त विषय सम्बन्धमा तपाईहरुको नेतृत्वमा रहेका राष्ट्रिय समन्वय परिषद् (“एनसीसी”) संयुक्त राज्य अमेरिकाबाट मिति २०८३/०४/०२-०३ (सन् २०२६ जुलाई १८-१९) मा फरक-फरक स्थानमा वार्षिक साधारण सभा आयोजना गर्ने गरि प्रकाशित सूचनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०८२/१२/०२ (सन् २०२६ मार्च १६) मा सम्पन्न १२ औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनबाट १२ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२५-२०२७ कार्यकाल) (“आइसीसी”) विधिवत् निर्वाचित भई सके पश्चात् निरन्तररुपमा विभिन्न देशमा समानान्तर गतिविधि सञ्चालन गरि रहेका एनसीसीहरुको एकिकृत गर्नका लागि निरन्तर देहायको कोशिश भएको तहाँ एनसीसी यूएसएलाई पुनः जानकारी गराउँदछौं ।
- संघका उपाध्यक्ष श्री रविनराज बज्राचार्यज्यूबाट दुवै एनसीसी यूएसएका प्रतिनिधिहरूसँग मिति २०८२/१२/२५ (सन् २०२६ अप्रिल ८) मा एकता तथा सहकार्यका विषयमा छलफल सम्पन्न गरिएको थियो ।
- अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०८३/०२/३०-३१ (सन् २०२६ जुन १३-१४) मा सम्पन्न ११५ औँ बैठकको निर्णयबमोजिम संस्थागत एकता, पारस्परिक विश्वास, संगठनात्मक स्थायित्व तथा दीर्घकालीन सहकार्य सुनिश्चित गर्ने उद्देश्यले उपाध्यक्ष श्री रोशन थापाज्यूको संयोजकत्वमा गठित ३ (तीन) सदस्यीय एनसीसी यूएसए एकता सहजीकरण तथा सुझाव समिति मार्फत दुवै एनसीसीसँग औपचारिक तथा अनौपचारिक रूपमा पटक-पटक छलफल गरी एकताको सम्भावित विधि (मोडालिटी) सम्बन्धमा गम्भीर संवाद गरिएको थियो ।
- संघका अध्यक्ष डा. हेमराज शर्मा ज्यू तथा महासचिव डा. चिरञ्जीवी खड्काबाट समेत दुवै एनसीसीलाई एकीकृत गरी एउटै एनसीसी यूएसए गठन गर्न अनेकौं चरणमा छलफल तथा समन्वय गरिएको थियो ।
- विधानको दफा ९ को उपदफा ९.४ र दफा २५ को उपदफा २५.६ बमोजिम दुवै एनसीसी यूएसएबाट भुक्तानी हुन बाँकी रहेको सदस्यता शुल्क भुक्तानी गर्न पटक पटक मिति तोकि लिखित ताकेता गरिएको थियो ।
- दुवै एनसीसीका प्रतिनिधिहरूले एकता सम्बन्धी छलफलमा सहभागिता जनाई आ-आफ्ना धारणा प्रस्तुत गर्नुका साथै समानान्तर गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेता पनि उक्त प्रतिबद्धता विपरीत समानान्तर गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन् ।
उपरोक्त सबै प्रयासका बाबजुद पनि तहाँका दुवै एनसीसीबाट समानान्तर गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन् । यसबाट संघको बृहत् एकताको अभियान, संगठनात्मक एकता, पारस्परिक विश्वास तथा संस्थागत स्थायित्वमा प्रतिकूल प्रभाव परेको छ। अतः गैरआवासीय नेपाली संघको बृहत् एकताको अभियानलाई सफल बनाउन तथा मिति २०८२/०८/१४ (सन् २०२५ नोभेम्बर ३०) मा सम्पन्न बृहत् एकताको सहमतिपत्र एवं मिति २०८२/११/३०-१२/०२ (सन् २०२६ मार्च १४-१६) मा सम्पन्न १२ औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको मूल मर्म, भावना र उद्देश्यलाई आत्मसात् गर्दै देहाय बमोजिमका निर्देशनहरूको तत्काल पालना गरी नेपाली समय अनुसार मिति २०८३/०३/२९ (सन् २०२६ जुलाई १३), सोमवार अपरान्ह्र ५:०० बजे भित्र यस संघलाई लिखित जानकारी गराइदिन निर्देशित गरिन्छः
- दुवै एनसीसीबाट मिति २०८३/०४/०२-०३ (सन् २०२६ जुलाई १८-१९) मा फरक-फरक स्थानमा आयोजना गर्न आह्वान गरिएका वार्षिक साधारण सभा सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गरी सोको लिखित जानकारी यस संघलाई उपलब्ध गराउने ।
- मिति २०८२/०८/१४ (सन् २०२५ नोभेम्बर ३०) मा सम्पन्न बृहत् एकताको सहमतिपत्र तथा मिति २०८२/११/३०-१२/०२ (सन् २०२६ मार्च १४-१६) मा सम्पन्न १२ औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको मूल मर्म, भावना तथा उद्देश्यअनुरूप एवं संघका उपाध्यक्ष एवं एनसीसी यूएसए एकता सहजीकरण तथा सुझाव समितिका संयोजक श्री रोशन थापाज्यूबाट निर्धारण गर्नुभएको मिति २०८३/०३/३२ (सन् २०२६ जुलाई १६) मा आयोजना हुने एकता अधिवेशन (Unity Convention) मा सहभागी भई एकीकृत एनसीसी यूएसए गठन प्रक्रियामा पूर्ण सहयोग गर्ने सम्बन्धमा लिखित प्रतिबद्धता यस संघलाई उपलब्ध गराउने ।
नोटःएकता अधिवेशन (Unity Convention) को उद्देश्य संगठनात्मक एकताको औपचारिक घोषणा, अनुमोदन तथा एकता कार्यान्वयनका लागि आवश्यक संगठनात्मक निर्णयहरू पारित गर्ने हुनेछ)
उपरोक्त निर्देशनहरूको पूर्णः परिपालना नभएमा गैरआवासीय नेपाली संघको विधान २००३ (२०२६ को संशोधन सहित) (“विधान”) को दफा १७ को उपदफा १७.७ को खण्ड १७.७.२ को कानूनी अनुसार भई जाने समेत तहाँ एनसीसीहरुलाई जानकारी गराउँदछौं ।
विधानको दफा १७ को उपदफा १७.७ मा देहायको कानूनी व्यवस्था रहेको तहाँ समक्ष जानकारी गराउँदछौं:
दफा १७ को उपदफा १७.७ – आवश्यकता अनुसार राष्ट्रिय समन्वय परिषद्को गठन र देहायको अवस्थामा विघटन गर्न वा मान्यता (recognize) फिर्ता गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई हुनेछ ।
१७.७.१ स्थानीय कानूनले वर्जित गरेको हद बाहेक यस संघको उदेश्य अनुरुप अगाडि वढ्न अस्वीकार गरेमा ।
१७.७.२ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निर्देशनहरु पालना नगरेमा ।
१७.७.३ तदर्थ समिति गठन भएको बढीमा एक वर्ष भित्र राष्ट्रिय अधिवेशनको आयोजना गर्न नसकेमा ।
१७.७.४ अनुसूची – ८ मा दिईएको न्यूनतम मापदण्ड पुरा नगरेमा ।
धन्यवाद ।
भवदीय,
डा. चिरञ्जीवी खड्का
महासचिव
बोधार्थ :
सम्पूर्ण पञ्जीकृत सदस्यज्यूहरु, एनसीसी, युएसए ।

















