दश खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, उपाधिबाट दुई कदम टाढा
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार राति सम्पन्न क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
१० खेलाडीमा सीमित रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो। यो जितसँगै अर्जेन्टिनाले उपाधितर्फको आफ्नो यात्रालाई थप मजबुत बनाएको छ । अब अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
खेलको पहिलो हाफदेखि नै अर्जेन्टिनाले बल नियन्त्रणमा स्पष्ट प्रभुत्व जमाएको थियो। कप्तान लियोनेल मेस्सीको अनुभव, मध्यपङ्क्तिको उत्कृष्ट तालमेल र अग्रपङ्क्तिको तीव्र आक्रमणका कारण स्विट्जरल्याण्ड लगातार दबाबमा परेको थियो।
पहिलो गोलपछि अर्जेन्टिनाको आत्मविश्वास झन् बढ्दै गएको देखिएको थियो । स्विट्जरल्याण्डले केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षा पङ्क्ति मजबुत देखिएको थियो ।
खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिनाले बल नियन्त्रणमा राख्दै स्विट्जरल्याण्डमाथि दबाब कायम राखेको थियो।
दोस्रो हाफमा स्विट्जरल्याण्डले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६७औँ मिनेटमा डान एनडोयेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ७२औँ मिनेट रातो जर्सीमा मैदानमा उत्रिएको स्वीस टिमलाई रातो कार्डको दशा लाग्यो ।
स्विस स्ट्राइकर ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए।
१० खेलाडीमा खुम्चिएपछि स्विट्जरल्याण्डले एक सय १२ मिनेट भन्दा बढी समय उपाधिको प्रमुख दाबेदार मध्येको एक अर्जेन्टिनालाई रोक्न सकेन ।
खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले आफ्नो अनुभव देखायो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले महत्वपूर्ण गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको १२०औँ मिनेटको अतिरिक्त समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।

यस जितसँगै अर्जेन्टिना लगातार विश्वकपको सेमिफाइनलमा पुगेको छ। टोलीका समर्थकहरूले खेलभर उत्साहजनक समर्थन दिएका थिए । खेल समाप्तिपछि मैदान र रङ्गशालाबाहिर अर्जेन्टिनाका समर्थकहरूले भव्य रूपमा जितको उत्सव मनाएका थिए।
अब विश्व फुटबलको ध्यान अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच हुने सेमिफाइनल भिडन्तमा केन्द्रित हुनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ।

एकातिर अर्जेन्टिनाको आक्रमण शक्तिशाली देखिएको छ । अर्कोतर्फ इङ्ग्ल्यान्डले पनि क्वार्टर फाइनलमा नर्वेमाथि उत्कृष्ट पुनरागमन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ।
स्विट्जरल्याण्डका लागि भने यस हारसँगै विश्वकप यात्रा समाप्त भएको छ। टोलीले प्रतियोगिताभर प्रशंसनीय प्रदर्शन गरे पनि अन्तिम आठको चुनौती पार गर्न सकेन।
यद्यपि उनीहरूको अनुशासित खेल, उत्कृष्ट रक्षात्मक प्रदर्शन र सामूहिक प्रयासले समर्थकहरूको मन जित्न सफल भएको थियो। अर्जेन्टिनाका खेलाडी पाखुरामा कालो पट्टी स्विस विरुद्धको खेलमा अर्जेन्टिनाका खेलाडीहरूले कालो पट्टी बाँधेर मैदान उत्रिएका थिए।
आफ्ना दिग्गज पूर्व कप्तान एन्टोनियो राटिनको आजै ८९ वर्षको उमेरमा भएको निधनको शोकमा पाखुरामा कालो पट्टी बाँधेका हुन् ।
तस्विर सौजन्य : फिफा

















