आत्मदाह: एउटा व्यक्तिको अन्तिम कदमभित्र लुकेको समाजको असफल ऐना
त्रिविक्रम नेउपाने
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / ज्वाला देखिनुभन्दा धेरै पहिले मानिस भित्रभित्रै जलिसकेको हुन्छ। कहिलेकाहीँ एउटा आगोले केवल एउटा शरीर जलाउँदैन,त्यसले एउटा परिवारको सपना जलाउँछ,एउटा समाजको संवेदना जलाउँछ, र हामी सबैलाई एउटा असहज प्रश्न सोधेर जान्छ।
“हामीले त्यो मानिसको पीडा समयमै किन देख्न सकेनौँ?”
समाचारमा आत्मदाहको घटना आउँछ। केही समयका लागि देश तात्छ। सामाजिक सञ्जालमा बहस हुन्छ। कसैले राजनीतिक कारण देखाउँछ, कसैले व्यक्तिगत कमजोरी भन्छ, कसैले भाग्यलाई दोष दिन्छ। तर यी सबैभन्दा गहिरो एउटा प्रश्न बाँकी रहन्छ।
एउटा जीवित मानिस कसरी यस्तो मनस्थितिसम्म पुग्छ, जहाँ उसलाई आफ्नो जीवन नै अन्तिम सन्देश बनाउनु पर्ने जस्तो लाग्छ?
यसको उत्तर खोज्न हामीले आगो होइन, आगोभन्दा अगाडिको अँध्यारो हेर्नुपर्छ।
युवाको सपना र वास्तविकताको टकराब
आजको युवा पुस्ता ठूलो सपना बोकेर हुर्किन्छ। ऊ सफल हुन चाहन्छ, परिवारलाई खुसी बनाउन चाहन्छ, समाजमा आफ्नो पहिचान बनाउन चाहन्छ।तर सपना र वास्तविकताको दूरी कहिलेकाहीँ अत्यन्त पीडादायी हुन्छ।
शिक्षा पूरा गरेपछि अवसर नपाउनु,योग्यता भएर पनि बेवास्ता हुनु,आर्थिक दबाब,परिवारको अपेक्षा,सामाजिक तुलना,विदेश जानुपर्ने बाध्यता,आफ्नो अस्तित्व प्रमाणित गर्ने निरन्तर संघर्ष आदि आदि ।
यी सबैले एउटा संवेदनशील मनलाई थकाउन सक्छन्। मानिस बाहिरबाट आधुनिक देखिए पनि भित्र उसले पुरानै प्रश्नसँग संघर्ष गरिरहेको हुन्छ।
“के मेरो जीवनको कुनै अर्थ छ?”
असफलताको संस्कृतिले बनाएको दबाब हो ?
हाम्रो समाजमा सफलताको ठूलो चर्चा हुन्छ, तर संघर्षको कम। हामी जित्ने मानिसलाई सम्मान गर्छौँ, तर हारिरहेको मानिसको हात समात्न बिर्सन्छौँ।सानैदेखि मानिसलाई सिकाइन्छ;
“पहिलो हुनुपर्छ।”
“सफल हुनुपर्छ।”
“अरूभन्दा अगाडि जानुपर्छ।”
तर कमै सिकाइन्छ;
“हार्दा पनि तिमी मूल्यवान छौ।”
“असफलता जीवनको अन्त्य होइन।”
“मद्दत माग्नु कमजोरी होइन।”
फलस्वरूप, धेरै मानिस आफ्नो असफलतालाई एउटा घटनाका रूपमा होइन, आफ्नो सम्पूर्ण पहिचानका रूपमा लिन थाल्छन्।ऊ सोच्छन् ;
“म असफल भएँ” होइन,
“म नै असफल हुँ।”
यही सोच खतरनाक हुन्छ।राज्य, समाज र व्यक्तिबिचको दूरी कहिलेकाहीँ आत्मदाहका घटनाहरू सामाजिक वा राजनीतिक पीडासँग पनि जोडिएका हुन्छन्।जब नागरिकले आफूलाई नसुनिएको महसुस गर्छ,जब न्यायको बाटो टाढा देखिन्छ,जब आफ्नो आवाज कुनै ठाउँमा पुग्दैन भन्ने अनुभूति हुन्छ, त्यसले गहिरो निराशा जन्माउन सक्छ।
मानिस केवल आर्थिक प्राणी होइन; ऊ सम्मान र पहिचान खोज्ने प्राणी पनि हो।पैसा गुमाउँदा मानिस दुःखी हुन्छ, तर सम्मान गुमाउँदा उसको अस्तित्व नै हल्लिन सक्छ।मौन पीडाको मनोविज्ञान सबैभन्दा खतरनाक पीडा त्यो होइन जुन मानिसले देखाउँछ।सबैभन्दा खतरनाक पीडा त्यो हो, जुन मानिसले लुकाउँछ। धेरै मानिसहरू सहायता माग्दैनन्, किनकि उनीहरू डराउँछन्;
“अरूले कमजोर ठान्लान्।”
“मेरो कुरा कसैले बुझ्दैन।”
“म आफैँ समाधान गर्छु।”
तर मन पनि शरीरजस्तै हो।जसरी घाउमा उपचार चाहिन्छ, त्यसरी नै मनको पीडालाई पनि हेरचाह चाहिन्छ।मानसिक पीडा देखिँदैन भन्दैमा त्यो वास्तविक हुँदैन भन्ने होइन ।हामीले बदल्नुपर्ने संस्कृति, हामीले एउटा यस्तो समाज बनाउनुपर्छ जहाँ मानिसले आफ्नो दुःख लुकाउन बाध्य नहोस्।
जहाँ बुबाले छोरासँग,आमाले छोरीसँग,साथीले साथीसँग,
र समाजले आफ्ना सदस्यसँग खुलेर भन्न सकोस्:
“तिमी ठिक छैनौ भने पनि तिमी हाम्रो लागि महत्त्वपूर्ण छौ।”
हामीले मानिसलाई उसको उपलब्धिले मात्र होइन, उसको अस्तित्वले मूल्यवान ठान्न सिक्नुपर्छ।किनकि मानिस केवल उसको जागिर होइन।मानिस केवल उसको पैसा होइन।
मानिस केवल उसको सफलता होइन।मानिस एउटा सम्पूर्ण कथा हो।बुझ्न जरुरी छ ;
आत्मदाहको घटना भएपछि हामी आगो निभाउन दौडन्छौँ।
तर वास्तविक आवश्यकता त्यो आगो बल्नुअघि नै त्यसको ताप महसुस गर्नु हो।कुनै मानिस अन्तिम सीमासम्म पुग्नुअघि उसले धेरै पटक संकेत दिएको हुन सक्छ।
उसको मौनताले,
उसको व्यवहारले,
उसको हराउँदै गएको उत्साहले।
हामीले ती सङ्केतहरू पढ्न सिक्नुपर्छ किनकि एउटा मानिसलाई बचाउन कहिलेकाहीँ ठूलो क्रान्ति आवश्यक हुँदैन।कहिलेकाहीँ एउटा सानो संवाद पर्याप्त हुन्छ।
एउटा फोन कल।
एउटा भेट।
एउटा सहानुभूतिको शब्द।
“म तिम्रो कुरा सुन्न तयार छु।”
सायद यही एउटा वाक्यले कसैको जीवनमा फेरि उज्यालो ल्याउन सक्छ किनकि अन्ततः आत्मदाहको सबैभन्दा ठूलो सन्देश आगो होइन।
त्यो एउटा मौन प्रश्न हो:
“के कसैले मलाई समयमै देखेको थियो?”
र यो पनि …

















