नेशनल अस्पतालले एक लाख रुपैयाँ जरिवाना बुझायो
काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको थिए ।
यस पटक अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो ।
यसपछि जरिवानाको पत्र पठाइएको थियो । महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।
‘एक पटक होइन । दुई पटक होइन । पटक पटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’
यस दफाबमोजिम रासायनिक फोहर मैला, औद्योगिक फोहर मैला, स्वास्थ्य संस्थाजन्य फोहर मैला, जोखिमपूर्ण फोहर मैला वा हानिकारक फोहर मैला जथाभाबी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।