पूर्वजहरू हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् । शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरू सिक्न सक्ने बताएका हुन् ।
उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए । हाम्रो विकासलाई रोक्ने काम भएको थियो । हजुरबाका हजुरबाले त्यही गरे । हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ ?, तर पुर्खाको जिन हामीसँग छ । हामी चाँडो सिक्न सक्छौँ । विकासका कुराहरूमा छिटो सिक्ने सामर्थ्य छ । नेपालीहरू आमरुपमा इमान्दार र परिश्रमिक छन् भनेर दुनियाँले चिनेको छ अहिले ।’
साथै उनले समाजमा नकारात्मक पक्षहरू पनि रहेको बताए । उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभई हामीले खोज्ने भनेको सकारात्मक भएको बताए ।
उनले भने, ‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरू छन् भने केही कमी कमजोरी, नकारात्मक पक्षहरू पनि छन् । तर हामीले हेर्ने, खोज्ने भनेको नकारात्मकता होइन हामीले खोज्ने भनेको सकारात्मकता हो । हामीले हेर्ने भनेको सम्भावनाहरू हो । यसरी हेर्दा खरी हाम्रो भूगोल, प्रकृति जस्तो छ । सुन्दर मात्रै होइन प्राकृतिक, खनिजका हिसाबले अत्यन्तै सम्पन्न र धनी छ ।’
यसै गरी ओलीले कामै लगाउनका लागि भए पनि नेपालीलाई बाहिरी देशहरूले प्राथमिकता दिने गरेको बताए । उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लाभ सतर्क रहेनौँ भने नरहन सक्ने बताए ।
उनले भने, ‘लाखौँ युवाहरू बाहिर गएर पनि अहिले परिश्रमी, मेहनती भनेर विभिन्न देशमा कमसेकम कामै लगाउनका लागि भए पनि नेपालीलाई प्राथमिकता दिन्छन् । इमानको, मेहनतीपनको सधैँ प्रशंसा भई नै रहेको छ । अहिले पनि ६० प्रतिशत सक्रिय जनसंख्या छ । ४० प्रतिशत युवा जनसंख्या छ । युवा जनसंख्याको लाभसर्तक रहेनौँ भने नरहन सक्छ । यसमा अलि धेरै सतर्क रहन जरुरी छ । ’