यो दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो :रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए ।
उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तिमिहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुनजेसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’
त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागे पनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए ।
उनले भने, ‘सरकारको षड्यन्त्रको यो शिलशिला अझै सकिएको छैन, तर कुनै दिन पनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन । जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’
लामिछाने सहकारी ठगी मुद्दामा विभिन्न जिल्ला अदालतबाट छेरौटीमा छुटेका हुन्। उच्च अदालतमा मुद्दा विचाराधीन हुँदै गर्दा झन्डै साढे पाँच महिना पछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका हुन्।