सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे : सांसद पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले राज्य संवेदनशील बन्नुपर्ने समयमा रमिता हेरेर बसिरहेको बताएका छन् ।
आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जवाफ दिन डराइरहेको बताएका हुन् ।
उनले भने, ‘यतिखेर राज्य कति संवेदनशील बन्नुपर्ने हो तर सरकारले साँच्चिकै अचम्म बनाएको छ । विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध छ । सुशासनसँग जोडिएका मुद्दा र विशेष गरी सरकार आफ्नालाई र बिचौलियालाई पोस्ने काम गरिरहेको छ । राम्रा भनिएकाहरूलाई बर्खास्ती गर्ने र अँध्यारोबाट आमजनतालाई उज्यालोको सपना देखाउनेहरूलाई पनि हटाउने काम गर्दै गर्दा सदनबाट जवाफ मागिएको थियो । तर अहिले फेरी अर्को घटनाले देशमा जटिल अवस्था आएको छ । यसको जटिल अवस्थामा पनि प्रधानमन्त्रीज्यू सदनप्रति जबाफदेही हुनुपर्नेमा बाहिर बाहिर हिँडिरहनु भएको छ ।’
साथै उनले शुक्रबार राजावादी आन्दोलनमा मृत्यु भएका दुई जनाको जिम्मेवार को हो भन्दै प्रश्न गरे । उनले के कारणले दुई जनाको ज्यान गुमाउनुपर्यो भनेर सरकारले जवाफ दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।