एनआरएनए अमेरिका ‘एकीकरण’ वार्ता सकारात्मक !
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको एकीकरणका लागि भएको पहिलो चरणको वार्ता सकारात्मक भएको पदाधिकारीहरूले बताएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को दशौँ महाधिवेशनका समयमा विवाद हुँदा काठमाडौँमा दुई वटा कमिटी बनेका थिए। त्यसको असर अमेरिकामा पनि परेको थियो।
उनीहरुले एनआरएनए अमेरिकाको एउटै नाम र लोगो प्रयोग गरी दुई संस्थाबाट गतिविधि गर्दै आएका थिए। अब भने सरोकारवालाहरु एकीकृत हुन मन्जुर भएका हुन्।
‘दुई एनसीसीलाई एकै बनाएर लैजाने भन्नेमा सहमति भयौ।‘डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाका सचिव दिपक सापकोटाले समाज टाइम्स सँग भने।
सूर्य लम्साल अध्यक्ष रहेको समितिका सचिव यदु बन्जाराले पनि दुई समिति बिचमा एकीकरणका लागि भएको वार्ता सकारात्मक तर्फ अगाडि बढेको पुष्टि गरे।
दुई समितिका पदाधिकारी बीचमा सोमवार साँझ वार्ता भएको जनाइएको छ। वार्तामा डा. बन्जाडे समितिबाट उनी सहित महासचिव रामहरि अधिकारी र सचिव दिपक सापकोटा तथा लम्साल अध्यक्ष रहेको समितिबाट उनी आफै सहित र महासचिव बन्जरा सहभागी भएको जनाइएको छ।
चार वर्ष अगाडि शेष घले नेतृत्वको उच्च स्तरीय समितिले गराउन लागेको महाधिवेशन बहिस्कार गर्दै एउटा पक्षले फरक ठाउँमा चुनाव गरेको थियो।
घलेले विनोद कुँवरको अध्यक्षतामा आइसीसी कमिटी बताएका थिए। यस्तै घले सँग असन्तुष्ट पक्षले कुल आचार्य, रविना थापा र डा. बद्री केसी गरी तीन तीन अध्यक्ष रहेको जम्बो समिति बताएको थियो।
तीन तीन अध्यक्ष रहेको समितिले गराएको ११ औ महाधिवेशन पनि विवादमा परेको थियो। त्यस पछि एक पक्षले डा. बद्री केसी र अर्को पक्षले आरके शर्मालाई अध्यक्ष बनाएका थिए। दुवै समितिलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको छैन।
यसै बीचमा एक पुरानो मुद्दामा सर्वोच्च अदालतले दशौँ महाधिवेशन पछिका सबै गतिविधिलाई खारेज गर्दै नयाँ चुनाव गराउन घले नेतृत्वको समितिलाई परमादेश जारी गरेको छ।
सर्वोच्चको आदेश अनुसार घले नेतृत्वको समितिले मे महिनामा आइसीसीको महाधिवेशन र नयाँ निर्वाचन गराउने तयारी गरेको छ। घले समितिले गराउने निर्वाचनलाई डा. बद्री केसी बाहेक अन्यले समर्थन गरेका छन्।
सूर्य लम्साल अध्यक्ष रहेको समिति आइसीसीमा विनोद कुँवर अन्तर्गत रहेको थियो। डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको समिति भने डा. बद्री केसी र आरके शर्मा समूह दुई तर्फ विभाजित थियो।
सूर्य लम्साल अध्यक्ष रहेको समितिले शेष घले नेतृत्वको उच्चस्तरीय समितिको निर्देशन अनुसार सदस्यता खुल्ला गरिरहेको छ। डा. अर्जुन बन्जाडे समिति भने अझै अन्यौलता छ।
बन्जाडे अध्यक्ष रहेको एनसीसी अमेरिकाका सचिव दिपक सापकोटाका अनुसार अब सदस्यता एकै ठाउँमा बनाउने र साधारण सभा पनि एकै ठाउँमा गर्ने सहमति भएको छ।
‘अब सदस्यता एकै ठाउँमा बनाउने, एजीएम एकै ठाउँमा गर्ने भन्नेमा सहमति भयो।‘सापकोटाले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कार्यविधि बनाउन पुन छलफल गर्ने गरी वार्ता टुङ्गियो।‘
सापकोटाले आफूहरू कार्यसमितिको निर्णय अनुसार नै अगाडि बढेको बताए।
‘एक ठाउँमा हुने भन्नेमा हामीले कार्यसमितिमा पनि छलफल गरेका हौ, त्यसै अनुसार वार्तामा बसेका हौ।‘उनले भने।
यस्तै लम्साल समितिका महासचिव यदु बन्जराले पनि आफूहरूले कार्यसमितिमा छलफल गरेरै वार्तामा बसेको बताए।
‘कार्यसमितिमा छलफल भएर आएको हो, त्यसै अनुसार अगाडि बढाएका हौ।‘महासचिव बन्जाराले भने, ‘ एकीकरणका सम्भावनाको बारेमा छलफल भयो, हाम्रोबाट सदस्यता खुली सकेको छ, उहाँहरूको केही अप्ठेरो रहेछ। अब एकै ठाउँमा गर्न कसरी सकिन्छ भन्नेमा छलफल भएको हो।‘
‘दुई संस्था एक हुनु पर्छ भन्नेमा दुवै पक्षको सहमति बन्यो, अब प्रक्रिया कसरी गर्ने भन्नेमा दोस्रो चरणमा छलफल गर्ने गरी वार्ता टुङ्गायौ।‘समाज टाइम्म सँगको कुराकानीमा सापकोटा र बन्जराले भने।
उनीहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशन र चुनावका बारेमा घटनाक्रमको मूल्याङ्कन गरेर अगाडि बढ्ने सहमति भएको पनि बताए।
‘दैनिक रुपमा नयाँ नयाँ कुरा आइरहेका छन्, आइसीसीमा विकसित घटनाक्रमका बारेमा त्यही समयमा निर्णय लिने गरी अमेरिकामा चैँ एकै ठाउँमा हुनु पर्छ भन्ने भयो’ बन्जराले भने।