अमेरिकामा आइसद्वारा नेपाली भाषी भुटानी पक्राउ प्रति निर्वाचित जनप्रतिनिधिहरूको आपत्ति
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) द्वारा नेपाली भाषी भुटानी पक्राउ गरेको प्रति निर्वाचित जनप्रतिनिधिहरूले आपत्ति व्यक्त गरेका छन्।
आइसले पेन्सिल्भेनिया राज्यको डाउफिन काउन्टीबाट पाँच जना नेपाली भाषी भुटानीलाई पक्राउ गरेको जनाइएको छ। त्यसो त अमेरिकाभरिबाट हात सम्म १३ जना नेपाली भाषी भुटानी पक्राउ गरिएको सार्वजनिक भएको छ।
शरणार्थी तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत वैधानिक रुपमा अमेरिका आएर लामो समय बसोबास गरेका नेपाली भाषी भुटानीलाई पक्राउ गरिएको बताइएको छ।
कानुनी रुपमा नै बसिरहेका व्यक्तिलाई आइसले हिरासतमा लिए भन्दै मंगलवार स्टेट क्यापिटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचित जनप्रतिनिधिले त्यसको विरोध गरेका हुन्।
अधिकारीहरूले भनेका छन् कि डाउफिन काउन्टीबाट पक्राउ गरिएका पाँच जना पुरुषहरू सबै अमेरिकाका कानुनी, स्थायी बासिन्दा हुन्, र तिनीहरूमध्ये केहीलाई पहिले नै राज्य बाहिरको हिरासत केन्द्रहरूमा स्थानान्तरण गरिएको गरिएको छ।
पत्रकार सम्मेलनमा डाउफिन काउन्टीका आयुक्त जस्टिन डगलसले काउन्टीका बासिन्दाहरूलाई आफ्ना संघीय प्रतिनिधिहरूसँग सम्पर्क गर्न र पाँच जना पुरुषहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न आग्रह गर्न सुझाव दिए।
“म तपाईँलाई यो के होइन भनेर भन्न चाहन्छु: यो सुरक्षा होइन; यो न्याय होइन,” डगलसले भने। “यो केवल उत्पीडन हो। र यसले हामीलाई सुरक्षित बनाउँदैन, यसले हामीलाई सानो बनाउँछ।‘
उनले कस्तो प्रकारको अमेरिका निर्माण गर्न खोजिएको हो भन्दै प्रश्न समेत गरेका छन्। ‘हामी कानून र अधिकारको राष्ट्र भएकोमा गर्व गर्छौँ, तर यदि हामीले शरणार्थीहरूलाई पिठ्यूँ फर्कायौं, जसले हामीले मागेका सबै काम गरेका छन्, केवल किनभने तिनीहरू फरक छन्, हामी कस्तो प्रकारको अमेरिका निर्माण गर्ने आशा गरिरहेका छौँ?”
पत्रकार सम्मेलनमा जनाइए अनुसार पक्राउ परेकाहरूलाई उनीहरूलाई के अभियोग लगाइएको हो खुलाइएको छैन।
पत्रकार सम्मेलनमा निर्वाचित जन प्रतिनिधिहरूले ह्यारिसबर्गमा रहेको नेपाली भाषी भुटानी समुदायसँग ऐक्यबद्धतामा उभिने प्रतिबद्धता जनाए।
“म भुटानी नेपाली समुदायको साथमा उभिन्छु, एउटा समुदाय जसले यस क्षेत्रमा धेरै कुरा ल्याएको छ: कडा परिश्रम, संस्कृति, परिवार, मूल्यमान्यता, विश्वास। तिनीहरू डर भन्दा राम्रो हकदार छन्,” डगलसले भने।
राज्य सिनेटर प्याटी किमले यस विषयमा आफूले गभर्नरको कार्यालयसँग कुरा गर्ने बताइन्।
“हामी हाम्रो समुदायका यी पाँच भुटानीहरूलाई घर फर्केको हेर्न आशा गर्छौँ। हामी त्यसो गर्न हर सम्भव प्रयास गर्नेछौं, आज गभर्नरको कार्यालयसँग गर्ने छु।‘प्याटीले भनिन्।
पत्रकार सम्मेलनमा भुट्नीज कम्युनिटी ह्यारिसबर्ग बीसीएचका अध्यक्ष तिलक निरौलाले आफ्नो समुदायका व्यक्ति वैधानिक रुपमा नै अमेरिका आएको बताए।
‘यहाँ श्रीमती बालबच्चा र र परिवार सँगै बस्दै आएका पाँच जनालाई विना कारण पक्राउ गरिएको छ।’ निरौलाले भने, ‘ हामी भुटानबाट पीडित हौ, हाम्रो देश छैन, हामीलाई डिपोर्ट गर्न मिल्दैन, यो विकल्प होइन।‘
निरौलाले अपराध गरेकाहरूलाई अमेरिकी कानुन अनुसार नै कारबाही हुनु पर्ने धारणा राखे।
‘कसैले अपराध गरेको छ भने, कानुन अनुसार कारबाही हुनु पर्छ, हामी वैधानिक रुपमा कानुन मान्दै आएका छौ, यहाँ अदालत छ, जेल छ, हामी नियम कानुन मान्छौ।‘
निरौलाले भुटानमा डिपोर्ट गर्दा राज्यबाट यातना हुने भन्दै चिन्ता व्यक्त गरे।
‘देश निकाला विकल्प होइन’ निरौलाले भने।
राज्य प्रतिनिधि डेभिड म्याडसेनले आप्रवासीहरूका कठिनाइका बारेमा चर्चा गरेका थिए। उनले ग्रिन कार्डमा रहेकाहरूको पनि आवतजावत गर्दा के हुने भन्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे।
उनले कानुनको प्रक्रियालाई पालना गर्नु पर्नेमा जोड दिए। ‘यहाँ अदालत छ त्यो प्रक्रियालाई पछ्याउनु पर्छ।‘ म्याडसेनले भने । साथै उनले जनताको अधिकारको सम्मान गर्न पनि संघीय सरकार सँग आग्रह गरे।
पत्रकार सम्मेलनमा राज्य प्रतिनिधि जस्टिन फ्लेमिङले पनि आफ्नो धारणा राखेका थिए।