मक्सले संघीय कर्मचारीलाई इमेल पटाउँदै भने : काम गर या राजीनामा देऊ
पेन्सिल्भेनिया/ अमेरिकी सरकारी दक्षता विभाग (डज) ले संघीय कर्मचारीलाई काम गर या राजीनामा देऊ भन्दै इमेल पठाएको जनाएको छ।
डजको नेतृत्व गरिरहेका अरबपति र ट्रम्पका विश्वासपात्र एलोन मस्कले शनिबार ट्वीट गरेपछि इमेलहरू आएको बताइएको छ।
बीबीसीका अनुसार कर्मचारीलाई आएको इमेलमा उनीहरूलाई गत हप्ताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको छ।
जवाफ दिन असफल भएमा राजीनामाको रूपमा लिइनेछ भनी इमेलमा लेखिएको जनाइएको छ।
मस्कले खर्च बचतका लागि व्यापक रुपमा कर्मचारी कटौतीको अभियान चलाउँदै आएका छन्। र उनको कामलाई राष्ट्रपति ट्रम्पले पनि प्रशंसा गर्दै आएका छन्।
राष्ट्रपति ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा बोलेको केही समयपछि इनबक्समा इमेल आइपुगेको जनाइएको छ। इमेलमा “तपाईँले गत हप्ता के गर्नुभयो?” भनेर सोधिएको छ।
संघीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो युनियन, अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लॉइजले इमेललाई “क्रूर र अनादरपूर्ण” भनेर आलोचना गरेको छ। युनियनले संघीय कर्मचारीहरूको कुनै पनि “गैर कानुनी बर्खास्ती” लाई चुनौती दिने वाचा गरेको छ।
युनियनका अध्यक्ष एभरेट केलीद्वारा जारी विज्ञव्तीमा “फेरि एक पटक, एलोन मस्क र ट्रम्प प्रशासनले संघीय कर्मचारीहरू र उनीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने महत्त्वपूर्ण सेवाहरूप्रति आफ्नो पूर्ण घृणा देखाएको छ,” भनिएको छ।